काठमाडौंबाट गाडी बुक गरी बीच बाटोबाट लुट्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट बा २ ज ३९४० नम्बरको सुजूकी अल्टो गाडी घर पुर्‍याइ दिन भनी भाडामा ल्याएर सर्लाहीस्थित बाँके जङगल गाडी लुटेर भाग्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

काठमाडौंबाट घर पुर्‍याइ दिन साढे १२ हजार भाडा तय भएको थियो। आउने क्रममा आइतबारर बिहान ५ बजे सर्लाहीको बाँकेस्थित जङगलमा चालकलाई रडले टाउको प्रहार गरी बेहोस् भएपछि गाडी लिएर भागेका उनीहरु पक्राउ परेका हुन् ।

उनीहरु गाडी लिएर भाग्ने क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका हरिहरिपुर स्थित अनियन्त्रित भई गाडी दुर्घटना भएपछि ई–रिक्सा चढेर भागेका थिए । यता सूचना पाएलगत्तै प्रहरीको विशेष टोलीले अनुसन्धान गर्दै जादा ई–रिक्सा चढी भाग्दै गरेको अवस्थामा धनुषाको धनुषाधामबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको भोक्राहा ५ बस्ने २७ वर्षीय मुरुदिन मियाँ र नविब आलम रहेको प्रहरीले जनाएको छ । उनीहरु नातामा मामा–भान्जा हुन् । पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा ल्याइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

उनीहरु जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।