सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने बताए । ६० लाख मध्ये १६ लाख डोज खोप भदौ ५ र ६ गते ल्याईएको थियो । खोप भण्डार गर्ने क्षमता विस्तार भएका कारण एकै पटक ४४ लाख डोज ल्याउने निर्णय गरिएको शाखा प्रमुख ढुंगानाले बताए ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ । सरकारले असोज महिनासम्म कुल जनसंख्याको ३३ प्रतिशत व्यक्तिलाई पूर्ण खोप लगाईसक्ने जनाएको छ ।