प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्दै शुक्रबार नयाँ सदस्य समेत थपेका छन्।

नयाँ थपिएका मन्त्रीहरुमा जुलि महतो पनि छिन्। उनलाई महिला तथा बालबालिका मन्त्री बनाइएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठले सम्हालिरहेका थिए। श्रेष्ठलाई कानुनमन्त्रालयको जिम्मेवारी दिएर महतोलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरिएको हो। महतो पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका रघुविर महासेठकी श्रीमती हुन।

रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्। महासेठ २०७४ सालको निर्वाचनमा धनुषा-४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन्। स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए। पछि उनलाई हटाइएको थियो।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीको विरोध गर्दै यसअघि उनका श्रीमान रघुवीर महासेठ माधव-प्रचण्ड समूहमा लागेका थिए।

दाहाल–नेपाल समूहले मंगलबार आयोजना गरेको स्थायी कमिटी बैठकमा महासेठ सहभागी भएका थिए। महासेठ प्रचण्ड माधव समूहमा लागेपनि जुलि भने ओली समूहमै थिइन्।

लामो समयदेखि केपी ओली समूहमै रहेका महासेठ दाहाल–नेपाल समूहको बैठकमा सहभागी भएपछि उनले ओली समूह छोडेको रुपमा हेरिएको थियो। स्रोतका अनुसार मंगलबार दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर निस्केपछि महासेठले साँझ प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए।

छलफलपछि महासेठ एकाएक फेरि ओलीलाई नै समर्थन गर्ने निर्णयमा पुगेको बताइएको छ।

स्रोतका अनुसार श्रीमतीलाई मन्त्री पद दिने भएपछि महासेठ ओलीलाई समर्थन गर्ने निर्णयमा पुगेका हुन् । कतिले भने बार्नेनिङ्गको लागि महासेठ प्रचण्ड नेपाल समूहमा गएको पनि बताउँछन् ।

महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन्।