प्रति व्यारेल १ सय ३८ डलर हुँदा नेपालमा पेट्रोलको मूल्य १ सय ८, अहिले प्रति व्यारेल ६५ डलर हुँदा १ सय १४ किन ?

पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा उपभोक्ता मञ्च, गण्डकी प्रदेश र जागौं नेपााल राष्ट्रिय अभियानले बिहीबार ज्ञापन पत्र बुझाएको छ।
जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक प्रमुख अधिकारी श्रीनाथ पौडेल मार्फत प्रधानमन्त्रीलाई उपभोक्ता मञ्च र अभियानले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो।

सहायक प्रमुख पौडेलले ज्ञापन पत्रलाई सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले ज्ञापन पत्र बुझाउने क्रममा बोल्दै सरकारले अटो प्राइजिङ सिस्टम अनुसार मूल्य १५–१५ दिन भन्दा नजिक मूल्य समायोजन गर्न पाइदैन। आइओसीले पनि एनओसीसँग १५–१५ दिनमा मात्रै विलिङ गर्ने हुँदा १५ दिनमा २ पटक मूल्य समायोजन गर्नु कानुन विपरित भएको जानकारी गराए। पेट्रोलियम पदार्थको मूल्य बृद्धिबाट उपभोक्ताहरु प्रत्यक्ष मारमा परेको हुँदा ज्ञापन पत्र बुझाउनु परेको अध्यक्ष कोइरालाले बताए।
त्यसैगरी जागौं राष्ट्रिय अभियानका केन्द्रीय सह–संयोजक तथा प्रवक्ता शिवराज वस्ताकोटी (शिव दाई)ले कोभिड–१९ले थलिएको यस राष्ट्रिय विषम परिस्थितिमा राहत् महशुस गराइ मलमपट्टि लगाउनको सट्टा झन् पोलेमाथि घोच्ने काम भयो। नेपाल सरकारद्वारा गरिएको इन्धन र ग्यासको मूल्य वृद्धिले आम जनताको दैनिकीका साथै चुल्होमा समेत प्रभाव परेकोले ज्ञापन पत्र बुझाउन परेको हो।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका कोषाध्यक्ष एवम् अधिवक्ता मिना रानाभाटले ज्ञापन पत्र पढेर सुनाइएकी थिइन्। ज्ञापन पत्र बुझाउने क्रममा जागौं नेपाल राष्ट्रिय अभियानका केन्द्रीय संयोजक दिपक आचार्य, उपभोक्ता मञ्च गण्डकी प्रदेशका सचिव एवम् अधिवक्ता सचिव दिपेन्द्र अर्याल, पत्रकार पदम श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।
सरकारले २०७३ माघमा स्वचालित मूल्य प्रणाली लागु गरी १५–१५दिनमा मूल्य समायोजन गर्ने भनिएपनि १५ दिन भित्रमानै २ पटक सम्म मूल्य बृद्धि गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी अन्तराष्ट्रिय बजार मूल्य घट्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाइएको प्रसंग उठाउँदै अहिले मूल्य स्थिरको अवस्थामा एक्कासी चर्को मूल्य बृद्धि गरिएकोमा आपत्ति जनाइएको छ।
ज्ञापन पत्रमा “अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएमा प्रत्येक १५–१५ दिनमा मूल्य समायोजन गर्न सकिने उल्लेख छ । तर अहिलेको मूल्य १५ दिनमा नै २ पटक बढाइएको छ । जवकी इण्डियन आयल कर्पोरेशन (IOC) ले नेपाल आयल निगम (NOC) लाई १५–१५ दिनमा मात्र बिलिङ गर्ने गर्दछ । यस्तोमा विचमा नै मूल्य बढाउनुपर्ने कारण के हो ?” जनाइएको छ।
यसै गरी ६ वर्ष अगाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १ सय ३८ युएस डलर प्रति ब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ कायम गरिएको थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ रु. ६५ युएस डलर प्रति व्यारेल हुँदा यहाँ अहिले १ सय १४ रुपैयाँ प्रतिलिटर कसरी कायम गरियो ? ६ महिना अगाडि मात्रै कच्चा तेलको मूल्य अन्र्तराष्ट्रिय बजारमा अस्वभाविक रुपमा घटेर २७ युएस डलर प्रति व्यारेलमा आउँदा तीन महिनासम्म मूल्य समायोजन नगर्ने, अनि अहिले नियमविपरित १५ दिनमै २ पटक मूल्य वृद्धि गर्ने काम किन गरियो ?” भनेर सरकारलाई सोधिएको छ।
त्यसैगरी “यहि विचमा डिलरको कमिशन बढाइएको छ र वोनस पनि बाडिँएको छ । त्यसको भार उपभोक्ता माथि थुपारिएको छ । पेट्रोलियम पदार्थमा हुने मूल्य वृद्धिले ढुवानी भाडामा वृद्धि भई अन्य सम्पूर्ण वस्तु तथा सेवामा समेत मूल्य वृद्धि हुने अवस्था आउने निश्चित छ । के यसरी देशमा सुशासन कायम हुन्छ ? तसर्थ जिम्मेवार सरकारको दायित्व निर्वाह गर्दै यो मूल्य वृद्धि तत्काल फिर्ता गरी आम उपभोक्तालाई राहत प्रदान गरियोस् भनी यो ज्ञापन पत्र पेश गर्दछौं । तत्काल मूल्य वृद्धि फिर्ता गरियोस् ।” भनी सरकारको ध्यानाकर्षण गराइएको छ।