सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा, नेपालले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत यही मिति २०८२ साल साउन १० गते शनिवारका दिन विन्दुवासिनी संस्कृत विद्यापीठ, बगरको सभाहलमा हिन्दु र बौद्ध दर्शनका बिचमा समानता र भिन्नताका विषयमा छलफल कार्यक्रम सम्पन्न गर्यो । नेपाल संस्कृत विश्वविद्यालयका अङ्ग्रेजी विषयका सहप्रा.डा. योगराज पौडेलद्वारा प्रस्तुत छलफल पत्रमाथि नेपाल संस्कृत विश्वविद्यालयका नेपाली विषयका सहप्रा. रामुप्रसाद सुवेदीले गहन तथा तार्किक समीक्षा प्रस्तुत गरेका थिए ।
छलफल पत्र प्रस्तुत गर्दै सहप्रा.डा. पौडेलले पृथ्वीको उत्पत्ति, जीवको अस्तित्व, स्तनधारी जीवको उत्पत्ति हुँदै मानव सभ्यताको थालनी भएको तथ्य प्रस्तुत गरे । उनले मानिसले जीवन जिउने क्रममा आजभन्दा झण्डै ४–५ हजार वर्ष पहिले हिन्दु दर्शनको प्रारम्भ भएको र बौद्ध दर्शनको थालनी झण्डै ३ हजार वर्ष अघिदेखि आरम्भ भएर अस्तित्वमा रहेको तथ्य प्रस्तुत गरे । उक्त छलफल कार्यक्रममा छलफल पत्र प्रस्तोता डा. पौडेलले विभिन्न २५ ओटा आधारमा हिन्दु दर्शन र बौद्ध दर्शनका बिचमा समानता र भिन्नतालाई प्रस्तुत गरेका थिए । उनले हिन्दु दर्शनको थालनी आख्यानबाट भएको, हिन्दु दर्शनका विशिष्ट कृतिहरू श्रुति परम्परामा आधारित भएको विचार व्यक्त गरे भने बौद्ध दर्शनको थालनी इतिहासबाट भएको विचार प्रकट गरे । उनले हिन्दु दर्शनमा ईश्वरको उच्च स्थान रहने, व्यक्तिको सफलता र असफलतामा मानिसको परिश्रमका साथै ईश्वरको कृपा पनि आवश्यक हुने विश्वास भएको कुरा व्यक्त गरे । बौद्ध दर्शनमा सुरूमा ईश्वरको अस्तित्वलाई अस्वीकार गरे पनि महायानी सम्प्रदायको विकास भएपछि ईश्वरको अवधारणा विकास भएको प्रसङ्ग उठाए । बौद्ध दर्शनमा मानिसको सफलता असफलतामा ईश्वरको कृपा नभई स्वयं मानिसकै महत्त्वपूर्ण हात रहने धारणा रहेको विचार व्यक्त गरे । उनले हाल बिस्तारै बुद्ध दर्शनमा पनि भगवान र मूर्ति पूजाले स्थान लिन थालेको कुरा प्रकट गरे । उनले यो जगत् आफैँ बन्यो वा बनाइयो भन्ने विषयमा प्रश्न राख्दै प्राकृतिक कुराहरू आफैँ बनेका र वर्तमान समयमा विज्ञान र प्रविधिको प्रयोग गरेर मानिसहरूले विभिन्न वस्तुहरू बनाएको उदाहरण प्रस्तुत गरे ।
उक्त छलफल पत्रमा सहप्रा. रामुप्रसाद सुवेदीले बौद्धिक तथा तार्किक टिप्पणी प्रस्तुत गरे । सुवेदीले आफू केही समय नास्तिक रहे पनि ध्यान तथा साधनाले हिन्दु दर्शनका केही तथ्यहरू आफूले नजिकैबाट आत्मसात् गर्न पाएको अनुभव व्यक्त गरे । उनले प्राचीन हिन्दु दर्शन र बौद्ध दर्शन आधुनिक भौतिक विज्ञानसँग पूर्ण रूपमा मेल खाने भएकाले उक्त दुई दर्शनमा भिन्नता नरहेको भाव प्रकट गरे । उनले ईश्वरका नाममा पाखण्ड मौलाएका कारण सुरूमा बौद्ध दर्शनले ईश्वरलाई अस्वीकार गरेको विचार प्रकट गरे । उनले मानिसको मस्तिष्क नै चित्रात्मक हुने भएकाले विभिन्न धर्ममा विभिन्न रूप र आकृतिका देवी देवताका चित्र वा मूर्ति निर्माण भएको धारणा राखे । सुवेदीले सबै धर्म र दर्शनको सार एउटै हो भन्दै विज्ञानले हाल अघि सारेको क्वान्टम भौतिकीलाई हिन्दु र बौद्ध दर्शनले पहिले नै व्याख्या गरिसकेको विचार पनि राखे । उक्त दर्शनअनुसार हरेक वस्तु निश्चित विन्दुसम्म फैलँदै जान्छ । उक्त फैलावट निश्चित सिमामा पुगेपछि रोकिन्छ र पुनः खुम्चिन थाल्छ । अन्त्यमा पदार्थमा विलय हुन्छ । यो नै आधुनिक विज्ञानले मानेको ब्ल्याक होलभित्र पृथ्वीको विस्फोट हुन्छ भन्ने मान्यता हो । हिन्दु र बौद्ध दर्शनको गहिराइमा पुग्न सकियो भने यो विषय प्रष्ट हुने निष्कर्ष राखे । उनले विभिन्न तीर्थस्थल भनेका ऊर्जाका केन्द्र भएकाले त्यहाँ जाँदा ऊर्जा नवीकरण हुने विचार प्रकट गरे ।
उक्त छलफल पत्र तथा टिप्पणी पत्रमाथि सहप्रा. डा. लक्ष्मीशरण अधिकारी, कमल पौडेल ‘अथक’ प्रा.डा. शालिकराम सुवेदी, प्रा.डा. विष्णुप्रसाद पौडेल, डा. बोधराज ढकाल, वसन्त पराजुली, डा. भोलानारायण रेग्मी, सुलोचना खनाल, सुरेश रिमाल, प्रकाश पौडेल, डा. भानुभक्त आचार्य, डा. टीकाराम आचार्य ‘आरुणी’ ले आआफ्ना धारणा तथा जिज्ञासा राखेका थिए । छलफलका क्रममा उठेका जिज्ञासाको प्रस्तोता र टिप्पणीकर्ताले समाधान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले अध्यक्षको मन्तव्य राख्दै मौन बस्न रुचाउने रामुप्रसाद सुवेदीलाई टिप्पणीकर्ताका रूपमा उभ्याएर महत्त्वपूर्ण ज्ञानबाट सबै लाभान्वित हुन पाएको विचार प्रकट गरे । संस्थाका उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राख्दै प्रतिष्ठानद्वारा प्रकाशन गरिने विज्ञ समीक्षक पत्रिका अवधारणाका लागि अनुसन्धानमूलक लेख पठाउन अनुरोध गरे । उक्त कार्यक्रम संस्थाका सचिव डा. पीताम्बर पौडेलले सञ्चालन गरेका थिए ।