पर्वतः
पर्वत भँगरा पोखरा सम्पर्क समाजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ सय ५० जना लाभान्वित भएका छन्।
पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ९ भँगारा, काउलेमा आज भएको उक्त शिविर दुुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल (आरएचएससी) र गण्डकी मेडिकल कलेज (जिएमसी) पोखराको प्राबिधिक सहयोगमा गरिएको थियो ।
शिविरमा पेट, छाती, मुटुरोग, स्त्री रोग, पाठेघर सम्बन्धी क्यानरको जाँच, दाँत सम्बन्धी उपचार, इसिजी, सुगर, प्रेसर जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
पर्वत भँगारा पोखरा सम्पर्क समाजका अध्यक्ष खड्क बहादुर पौडेलका अनुसार निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगमा बस्ने आमाबुवा, दाजुभाई दिदीबहिनीहरुलाई प्रत्यक्ष फाइदा पुगेको अनुभवले अहिले निरन्तर गरिएको बताए । उनले भने, ‘हामीले निःशुल्क स्वास्थ्य शिविर गरेको तेस्रो पटक हो । शिविरले गाउँबाट शहर गई उपचार गर्न कठिन भएका विरामीहरुलाई विशेष राहत पुग्ने र रोगको पहिचान हुने भएकोले पुनः माग अनुसार शिविर सञ्चालनमा ल्याएको हो ।’
फलेवास नगरपालिकाका ९ का वडा अध्यक्ष हितमान गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त निःशुल्क शिविरमा समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, कार्यक्रम सयोजक तथा निवर्तमान अध्यक्ष नबिन क्षेत्री, सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, महाशिला गाउ पालिका वडा नं.६ का वडा अध्यक्ष गोबिन्द बहादुर बिक, दुर्गम स्वास्थ्य सेवा नेपालका कोडिनेटर धर्म राज खड्का लगायतले आफ्नो धारणा राखेका थिए ।
समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रीले स्वागत मन्तब्य र सचिव अग्नि प्रसाद भुसालले संचालन गरेका थिए ।