पोखरा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरामा शनिबार जोसमनी दर्शनका सैद्धान्तिक र व्यावहारिक पक्षमा विमर्श भएको छ । संस्थाका निवर्तमान सचिव डा. टीकाराम आचार्य ‘आरुणी’ ले ‘जोसमनी एक व्यावहारिक दर्शन’ शीर्षकको अनुसन्धान पत्र प्रस्तुत गर्दै यसका सैद्धान्तिक र व्यावहारिक मान्यतालाई स्पष्ट पारे ।

१९ औँ शताब्दीको पूर्वार्धदेखि सन्त शशीधरबाट आरम्भ भएको जोसमनी दर्शनलाई ज्ञान दिलदासलगायतले भजन र कविताका माध्यमबाट विकसित गरेको उनको अध्ययनको निष्कर्ष छ । यस दर्शनले कर्मकाण्ड पद्धतिमा अविश्वास गर्ने, मानवतावादलाई महत्त्व दिने, आडम्बरी प्रवृत्तिको खण्डन गर्ने, आत्मसन्धानमा रुचि राख्ने तथा हठयोगमा विश्वास गर्ने र आस्तिक निर्गुण भक्तिधारालाई प्रश्रय दिने हुँदा जोसमनी दर्शनले समाज सुधारमा सहयोग मिल्ने अध्येताको तर्क छ ।

आचार्यले आत्मा र परमात्मालाई एकाकार पार्ने उपायका रूपमा अष्टाङ्ग योगविधिलाई अवलम्बन गरी कुण्डलिनीबाट सहश्र दल कमलसम्म पुगेपछि ज्ञान प्राप्त हुने बताउँछन् । यो कार्य गुरुको निर्देशन र शिष्यको समर्पणबाट सम्भव हुने उनको ठहर छ । कर्मयोगबाट नै ज्ञानयोगतर्फ जान सकिने, धर्मलाई देखावटीबाट व्यवहारतर्फ लान सकिने तथा शास्त्रका मान्यतालाई परिष्कार गर्दै कर्मकाण्ड पद्धतिमा सुधार ल्याई समाजमा समानता, न्याय र सुशासन कायम गर्न जोसमनी मत महत्त्वपूर्ण रहेको आचार्यको स्पष्टोक्ति छ ।

कार्यक्रममा टिप्पणीकार डा. भोलानारायण रेग्मीले अहिले धर्मसंस्कृतिमाथि प्रहार भइरहेको बेला जोसमनी मत सार्थक रहेको बताए । डा. रेग्मीले जोसमनी सन्त ज्ञानदिलदासले दार्जलिङमा टर्नबुललाई शास्त्रार्थमा हराएर बाइबल पोल्न बाध्य पारेको प्रसङ्ग जोड्दै ॐकार रूपी ब्रह्मको प्राप्तिपछि मोक्ष प्राप्त हुने हुँदा शरीर शुद्धिबाट चित्तशुद्धि र चित्तशुद्धिबाट समाज परिवर्तन गर्न सकिने धारणा राखे ।

कार्यक्रममा प्रा.डा. शालिग्राम सुवेदी, प्रा.डा. जगन्नाथ रेग्मी, डा. भूमिराज बस्ताकोटी, सुलोचना खनाल, सुरज पौडेल, बसन्त पराजुली, हिममाया पौडेललगायतले प्रकृति, आत्मा र परमात्माको सम्बन्धमा जोड दिए । उनीहरूले जोसमनी दर्शनको आधार पौराणिक ग्रन्थ वेद र भागवतमा रहेको उल्लेख गर्दै लेखलाई थप प्राज्ञिक बनाउन सुझाव दिए ।

स्याङ्जा साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टीकाराम वाग्लेले कविता वाचनसहित शुभकामना दिए । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा. भानुभक्त आचार्यले गरेका थिए ।