पर्वत :
पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीेनेटामा नेकपा एमाले परित्याग गरि २९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले युवा संघ कार्कीनेटाका पुर्व सचिव तथा जिल्ला सदस्य, हाल फलेवास नगर कमिटि सदस्य प्रविण श्रेष्ठ, किसान महासङ्घ पर्वत जिल्ला सदस्य, कार्कीनेटा वडाकमिटि सदस्य तथा कार्कीनेटा युवासङ्घ गाउकमिटी सचिव महेन्द्र पौडेल सहित २९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी युवाहरुलाई नेपाली कांग्रेस पर्वतका जिल्ला सभापति युवराज जोशीले खादा र माला लगाई स्वागत गरेका थिए ।
करिब ३० वर्षसम्म पनि एमालेले एक छत्र राज गरेको कार्कीनेटामा विकासका सम्भावना हुँदा हुँदै पनि केही गर्न नसकेपछि अर्को विकल्प खोज्नुपरेको उनिहरुको भनाई रहेको थियो ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै नेपाली कांग्रेसका सभापति युवराज जोशीले नेकपा एमाले देशको समृद्धी र विकासमा भन्दा ओलीको भक्तिगानमा मात्रै भुलेको बताए । जोशीले गठबन्धन बनाएर मुलुकको विकासका लागि चुनावी मैदानमा रहेको भन्दै गठबन्धनलाई जिताउन अनुरोध गरे ।
सभापति जोशीले पार्टीमा लामो समयदेखि काम गर्दै आएको र कार्कीनेटामा प्रवेश गरेका नयाँ सदस्यहरुलाई पनि आफु संग हातेमालो गरेर अगाडी बढ्ने बताए । कार्कीनेटा २०४६ साल भन्दा अगाडि धौलागिरिको मुख्यद्वारको नामबाट परिचित कार्कीनेटा भएको स्मरण गराउँदै दैनिक हजारौ जना पैदल यात्रा गर्ने मुख्य बाटोे रहेको जानकारी गराए ।
उनले भने “गण्डकी प्रदेशको प्रयटकीय क्षेत्रमा विकास गर्न फलेवास नगरपालिकाले इट्टा थप्ने धेरै सम्भाव्य क्षेत्र भएपनि एमाले नेतृत्वले कहिल्यै विकासमा ध्यान नदिएर पछाडी परेको उल्लेख गरे । कार्कीनेटाको विकासमा काँग्रेसले नेतृत्व गरेर अगाडि बढ्छ । उनिहरुले गरेका १५ वर्षका काम र हामीले ५ वर्षमा गरेका काम जनताले ५ वर्षपछि तर्जुमा गर्ने गरि काम गर्ने जोशीले उद्घोष गरे ।
कार्किनेटाका एमालेको बन्धन त्यागेर काँग्रेसमा प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने बताउँदै सभापति जोशीले टिमुरबोट र ढुंगेठाँटीबाट प्रवेश गरेका नवप्रवेशीहरुलाई ढुक्कका साथ नेपाली काँग्रेसमा समाहित भएर भूमिका खेल्न आग्रह गरे । ‘तपाईहरुको टिमुरबोटमा पक्कि सडक र सुविधासम्पन्न सार्वजनिक भवन बनाउने मेरो बाचा भयो,’ काम भएन भनेर प्रश्न गर्ने ठाउँ राख्दिन ।’
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति शिवप्रसाद सुबेदीले एमालेको झुठो प्रचारका पछि नलागी नेपाली काँग्रेसमा आवद्ध हुन आव्हान गरे ।
देश निर्माण गर्ने उदेश्यका साथ गठबन्धन अगाडी बढेको र त्यसको नेतृत्व काँग्रेसले गरेको हुनाले काँग्रेसमा समाहित भएर देश विकासमा लाग्न आग्रह गरे ।
नेपाली काँग्रेस कार्कीनेटाका सभापति देबिप्रसाद पाध्याको सभापतित्वमा भएको कार्यक्रमको स्वागत पूर्व पार्टी सभापति विश्वराज शर्माले गरेका थिए भने सचिव भुपेन्द्र पोखरेलले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता थमानसिँह थापा, नवप्रवेशी महेन्द्र शर्मा, युवा नेता उमाकान्त तिवारी लगायतले बोलेका थिए ।