लक्ष्मी श्रेष्ठ÷बाघपाइला
पर्वतः नेवारहरु संस्कृतिको धनि समुदायमा पर्दछन्। उनिहरुको आफ्नै रितिरिवाज, संस्कृत रहेको छ। नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन्। प्रायः नाच देवीदेवताका हुन्छन्। यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ। यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्रजात्रामा काठ्माडौँमा देखाइन्छ। भने पर्वतको कार्कीनेटामा नागपञ्चमीबाट सुरु गरी तीजमा अस्ताउने चलन रहेको छ।
कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ। नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ। राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ।
नेपालमा लाखेनाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ। कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ। कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन्। नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ। तर राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको पाइन्छ। लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ। खिं, पछिमा, नायिखं, धिमे बजाएर पनि लाखे नाच नचाइन्छ भने मादल र बाँसुरी, झुर्माको धुनमा पनि लाखे नाच नचाइन्छ।
नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच विभिन्न जिल्लाबाट लोप हुने अवस्थामा भएपनि पर्वतमा भने नेवार समुदाय भएको ठाउँमा निरन्तर सञ्चालन गर्दै आइरहेको छ। नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा भने यस नाचले आफ्नो स्थान ओगटेकै छ।
नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउदै गरेको महशुस गरिएको छ। मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि बिदेशी पर्यटकको पनि उतिक घुइँचो लाग्ने गर्दथ्यो।
लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ। भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् र आत्माले शान्ति पाओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ। त्यसैगरी उक्त वर्षमा मृत्यु भएका व्यक्तिको घरबाट पनि लाखे नाच निकाल्ने गरेको पाइन्छ।
टाउकोमा राक्षसको खप्पर, चौरी गाईको पुच्छर (चमार) लाई कपाल बनाउने, देवीको फरिया, ब्लाउज र कोटमा सजिएको व्यक्तिलाई नचाउने गरिन्छ भने बलिया र तन्नेरी युवाहरुले लाखेलाई जिस्काउने देखि विभिन्न प्रतियोगिता समेत राखेको देख्न पाइन्छ।
माओवादी जनयुद्धको सुरुवातसँगै ग्रामीण क्षेत्रबाट हराउँदै गएको लाखेनाच शान्ति स्थापनापछि पनि नियमित हुन नसक्दा पछिल्लो पुस्ताले यसको संस्कृति र महत्वसमेत बिर्सन थालेको छ, भने अर्को तिर लाखे नाचको संरक्षणका लागि भन्दै कार्कीनेटा नेवाः समाजले ७ वर्षपछि २०६४ बाट पुनः सञ्चालनमा ल्याइ निरन्तर लाखे नाच गर्दै आइरहेको छ।

भावी पुस्तासम्म जोगाउन गाह्रो छ

नगेन्द्र श्रेष्ठ (सचिव)

नेवाः खलः कार्कीनेटा

हामीले देखाउदै आइरहेको लाखेनाच देखाएर संस्कृतिलाई जोगाउने प्रयास गरिएपनि भावी पुस्तामा निरन्तर हुन्छ भन्ने सम्भावना अति न्युन भएको छ। हामीहरु अहिले व्यक्तिगत खर्च गरेरै भएपनि संस्कृति जगेर्ना गर्नुपर्छ, “संस्कृति नरहे अस्तित्व रहन्न” भन्दै लागि परेका छौं।

लाखेका सामाग्रीहरु कतै भाडामा र कतै सापट गरेर चलाउनु परेको छ भने कोही दाताले केही दिन्छन् कि भनेर ढुक्नु परेको अवस्था छ। लाखेनाच जसरी देखाइएको छ। अहिले हामी विना तयारी आफ्नो संस्कृति जोगाउनको लागि मात्र गरेका छौं। लाखे नाचको एउटा प्रक्रिया हुन्छ, देवीको वस्त्र लगाएर साक्षात देवी उतार्ने गरिन्छ। सामान्य तया एउटा लाखेको टाउकोमा ५ किलो भन्दा बढीको भार थामेर १ घण्टा भन्दा बढी नाच्नुपर्छ, कहिलेकाही पुजा गर्दा जुठो प¥यो वा पुजा पुरा नभएको खण्डमा लाखेमा देवी पनि उत्रनुहुन्छ। बाजाको तालबाट र पुजाको प्रक्रिया पुरा गरेर थाम्ने गरिन्छ।

संस्कार र रितिरिवाजलाई पुराना पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गर्ने हो। बाजाको ताल हुन्छ, विद्या हुन्छ त्यसलाई क्रियशिल बनाउन र निखारता ल्याउनको लागि प्रशिक्षणको आवश्यकता पर्दछ। तर हामी रकमको अभावमा प्रशिक्षण विनानै मागेर संस्कृति बचाउने मात्र काम भएको छ। लत्ता कपडाहरु पनि पुरानाले चलाउनु परेको बाध्यता छ। यो संस्कार नेवारहरुको मात्र होइन यो त नेपालीहरुको गहना हो। आज नेवारहरुको संस्कृति हराउला तर भोलिका दिनमा नेपाल बहुसांस्कृतिक र सम्पदाको धनि भनेर केलाई चिनाउने ? यस विषयमा सरोकारवाला निकाय पनि जागरुक हुन आवश्यक रहेको छ।