बार्सिलोनाका लागि मेसीले ७ सय ४९ खेलमा ६ सय ४४ गोल गरेका छन्, उनले फरक–फरक टोलीका १ सय ६० गोल रक्षकविरुद्ध गोल गर्न सफल भए

बार्सिलोनाका कप्तान लियोनल मेसीले यसै साता भालाडोलिडविरुद्ध गोल गर्दै ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान भंग गर्न सफल भए । मेसीले एक्लै क्लबबाट खेल्दै विश्व कीर्तिमानी रूपमा ६ सय ४४ गोलको रेकर्ड राखे । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो । मेसीले आफ्नो उपलब्धिमा खुसी मनाउनु स्वाभाविक नै हो । मेसीको खुसीमा साथ दिन युरोपकै चर्चित बियर कम्पनी बुडविसेरले फरक तरिकाले खुसी साटेको छ । 

मेसीले ६ सय ४४ गोल गर्दा फरक–फरक टोलीका १ सय ६० गोलरक्षकविरुद्ध गोल गरेका छन् । बुडविसेरले ती सबै गोलरक्षकलाई गोल संख्या अंकित गर्दै एक–एकवटा बियर बोतल पठाएको छ । बुडविसेरले सामाजिक सञ्जालमा यसको जानकारी सबैलाई दिएको छ । 

कम्पनीले क्याप्सन यस्तो लेखेको छ ‘यो खेलमा प्रत्येक गोल उत्तिकै गाह्रो र महत्वपूर्ण छ, गोल गर्न त्यति सजिलो छैन, हामीले ती सबै गोलरक्षकसमक्ष गोल संख्या र मेसीको फोटोसहित बियर बोतल उहारका रूपमा पठाएका छौँ, जसले मेसीको अचुक गोल रक्षा सकेनन् ।’ इटालीका गोलरक्षक गिआलुगी बुफानो पनि मेसीको गोल रोक्न नसक्नेमा पर्छन् । मेसीले सन् २०१७ को युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बुफानोविरुद्ध दुई गोल गरेका थिए । 

त्यसवेला मेसीले बार्सिलोनाका लागि ५ सय १४ र ५ सय १५ गोल गरे । बुडविसेरले बुफानो त्यही नम्बर अंकित बियर पठाएको हो । बुफानोले वियर बोतल पाएपछि मेसीलाई बधाई दिएका छन् । बुफानो भन्छन्, ‘पहिला बुडविसेरलाई धन्यवाद छ, जसले पुराना दिन सम्झना गराएको छ, यो एउटा फरक किसिमको उपहार हो, हामीबीच लामो समयदेखि प्रतिस्पर्धा नै चल्यो, मेसीले ६ सय ४४ गोलको विश्वकीर्तिमान बनाएका छन्, वास्तवमै यो उपलब्धि अतुलनीय छ, यस्तो उपलब्धि अगामी दिनमा पनि पाउँदै जाऊन् ।’

मेसीले स्पेनिस क्लब एटलेटिको म्याड्रिडका गोलरक्षक जान ओब्लाकविरुद्ध ११ गोल गरेका छन् । स्लाभाकियाको राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका जानले स्काई स्पोर्टस्लाई भनेका छन्, ‘मेसीले मविरुद्ध धेरै गोल गरे, अझ कति त याद पनि छैन ।’ गोलरक्षक जानले आफूविरुद्ध मेसीले ४ सय ८८ गोल गरेको स्मरण गराउँदै बोतल सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

उनी भन्छन्, ‘विश्व फुटबलकै एक महान् खेलाडी मेसीलाई डिबक्सभित्र रोक्न मुस्किल छ ।’ मेसीले अर्को स्पेनिस क्लब भ्यालेन्सियाका गोलरक्षक डिएगो अल्भासविरुद्ध १९ गोल गरेको रेकर्ड छ । बार्सिलोनाको प्रतिद्वन्द्वी रियल म्याड्रिडका पूर्वकप्तान तथा गोलरक्षक इकर कासिलासविरुद्ध मेसीले १७ गोल ठोके । मेसीले विश्व कीर्तिमान बनाउन बार्सिलोनाबाट ७ सय ४९ खेल खेले । त्यहीँ नै पेलेले ब्राजिलियन क्लब सान्तोषबाट ६ सय ५६ खेलमा ६ सय ४३ गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा पेलेको नाममा रहेको ७७ गोलसंख्या बराबरी गर्न मेसीलाई ६ गोल आवश्यक छ । पेलेले ९२ खेलमा सो गोल गरेका थिए । मेसीले अर्जेन्टिनी टोलीबाट १ सय ४२ खेलमा ७१ गोल गरेका छन् । मेसीले पेलेद्वारा स्थापित विश्व कीर्तिमान तोड्ने कल्पना नगरेको बताएका छन् । मेसीले भनेका छन्, ‘२० वर्षअघि फुटबल करिअर सुरु गर्दा पेलेको रेकर्ड एक दिन म आफूले नै तोडिनेछ भन्ने कल्पना पनि गरेको थिइनँ ।’ पेलेले पनि मेसीलाई बधाई दिएका छन् । पेलेले सान्तोषबाट सन् १९७१ मा अन्तिमपटक खेलेका थिए ।