काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ताका लागि खुमलटार पुगेका नेकपाका नेता वामदेव गौतम फर्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव नेपाल समूहमा पार्टी विभाजित हुँदा कुनै पक्षमा पनि नलागेका नेता गौतम प्रचण्डसँगको भेटघाटका लागि शनिवार विहान खुमलटार पुगेका थिए ।

यसअघि कुनै पनि समूहमा नखुलेका गृहमन्त्री रामबहादुर थापा बादल ओली समूहमा खुलेसँगै गौतम एक्लिएका थिए ।

उनलाई आफ्नो समूहमा ल्याउन प्रचण्ड नेपाल पक्षले पहल गरिरहेको छ भने गौतममाथि पनि कित्ता क्लियर गर्न दबाब परेको छ ।

वामदेवलाई आफ्नो पक्षको बैठकमा आउनका लागि आग्रह गर्दै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैंसेपाटीस्थित निवासमै पनि पुगेका थिए । गौतम प्रचण्डसँग छलफल गरेर निवास फर्किसकेका छन् ।

प्रचण्डले गौतम आफ्नै समूहमा आउने बिहीबाररको केन्द्रीय कमिटी बैठकमा बताएका थिए । तर गौतमले भने अहिलेसम्म कता लाग्ने भनेर मुख खोलेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनी संवादमै रहेको निकट स्रोतले जनाएको छ ।

गौतमलाई नवौं महाधिवेशनसम्म साथ दिँदै आएका किरण गुरुङ, रघुवीर महासेठ, गणेश ठगुन्ना, लालवहादुर थापा, पद्मा अर्याल, भुपेन्द्र थापालगायतका नेताहरु भने अ‍ोलीतिर लागेका छन् । केशवलाल श्रेष्ठ, बलराम बास्कोटाहरु भने प्रचण्ड–माधव पक्षको बैठकमा सहभागी भएका छन् । अब वामदेव दम्पतीले मात्र कित्ता प्रष्ट पार्न बाँकी छ ।