काठमाडौं। आउँदो सातादेखि नेपाल वायुसेवा निगमको काठमाडौं-हङकङ उडान नियमित हुने भएको छ। ४८ घण्टाको पीसीआर रिपोर्टलाई मान्यता दिइएसँगै यो पटक नेवानिको काठमाडौं-हङकङ उडानमा एक जना यात्रुको परिक्षण रिपोर्टमात्र कैफियत देखिएको निगमले जनाएको छ।

एक जना यात्रुको रिपोर्टमा मात्र कैफियत देखिएपछि हङकङ एयरपोर्टले आउँदो साताको उडानमा प्रतिबन्ध नलगाएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन। ‘यो पटक ४८ घण्टाको पिसीआर रिपोर्टलाई मान्यता दिइएको थियो। हङकङ पुगेका यात्रुमध्ये एक जनाको मात्र रिपोर्टमा कैफियत आएको जानकारी आएको छ,’ उनले भनिन्, ‘हङकङ एयरपोर्टले आउँदो सातादेखि नियमति उडान गर्न पत्राचार गरेको छ।’

यताबाट लगेका यात्रुको कोभिड-१९ परीक्षण रिपोर्ट जाँचमा उता पुगेर चार पटकसम्म कैफियत देखिएपछि निगमले पटल पटक प्रतिबन्ध झेल्दै आएको थियो। पहिले ७२ घण्टाको चाहिनेमा यसपटक हङकङ उडानका लागि यात्रुको ४८ घण्टाको पीसीआर परीक्षण रिपोर्टलाई वैधानिकता दिइएको थियो।

हङकङ एयरपोर्टले चौथो पटक निगमलाई दुई साताका लागि उडानमा प्रतिबन्ध लगाएपछि गत सोमबार निगमले वाइडबडीमार्फत काठमाडौं-हङकङ उडान गरेको थियो। यो उडानमार्फत २ सय ५९ यात्रु हङकङ पुगेका थिए।