पदम श्रेष्ठ÷बाघपाईला
छोराछोरीको अनलाईन क्लास चलेको हुनाले पोखरा ५ मालेपाटनका केशवले ल्यापटप नचलाएको धेरै भएको थियो। शनिबारको दिन अनलाईन क्लास नभएकोले बच्चासँग ल्यापटप मागेर ईन्टरनेट चलाउन खोज्दा उनी नराम्रोसँग झस्किए। जतिखेर पनि ल्यापटपमा झुुण्डिएर बस्ने छोराले पढाईमा निकै डुबेको भनेर मख्ख परेका उनलाई चिन्ताले सताउन थाल्यो। सामान्य जागिर खाएर कमाएको रकम सन्तानको उज्यालो भविष्यका लागि शिक्षामा खर्चिएका उनी चिन्तित बन्नुको कारण थियो—भर्खर किशोर अबस्थामा पुग्दै गरेको छोरा अश्लिल साईडमा डुब्नु। छोरासँग ल्यापटप मागेर जव उनले क्रोमो अन गर्दा एकाएक पोर्न साइडका नोटिफिकेसन देखिएका थिए। अत्यन्त घिनलाग्दा सेक्सी ती भिडियो किन हेरेको भनेर उनले छोरालाई गाली गरे। अभिभावकको चर्को स्वर सुनेर डराएको छोराले साथिले लिंक पठाएको भनेर आफ्नो बचाउ गर्न खोज्यो।
कोरोना भाइरसको महामारी अघि किताव कापि समातेर पढ भन्दा सधै पन्छिन खोज्ने छोरो किन अनलाइन क्लास भएपछि ल्यापटप एकछिन छाड्न मान्दैन भनेको रहस्य अहिले खुलेको थियो। खाना र खाजा खान पनि बोलाएको बोलाई गर्नुपर्ने, राति अबेरसम्म पनि नसुतेकोले सुत सुत भनेर कर गर्नुपर्ने, बाहिर साथिहरुसँग खेल्न मन नगर्ने, ल्यापटप चलाइरहेको बेला अरु काम गरायो भने रिसले जर्कने, थर्काउने, चर्को स्वर गर्ने, बाथरुममा धेरै बेरसम्म बस्ने गरेको घरपरिवारका सदस्यबाट थाहा पाए। नजिकै बोलाएर सम्झाउन खोज्दा छोराको आँखा रातो रातो देखिन्थ्यो भने आँखाको तल्लो परेला कालो भइसकेको थियो।
अहिले अनलाइन क्लाससँगै इमेल, ईन्टरनेटमा किशोरकिशोरी बिद्यार्थीहरुको सजिलै पहुँच भएपछि यस्तो समस्या धेरैमा देखा पर्दै गएको छ। जसले गर्दा धेरै बालबालिकाहरुको भविष्य सुनौलो गोरेटमा जानुको बदला अन्धकार खाडलतिर फस्दै गइरहेको छ।
साथिहरुसँग अनेक अश्लिल साइड सेयर गरेर हेर्ने, फेसवुकमा च्याट गर्ने, टिकटक बनाउने, भिडियो गेमहरु हेर्ने, फिल्म हेर्ने, गितहरु हेर्ने, जतिखेर पनि च्याटमा झुण्डिएर प्रेम र सेक्सका कुराहरु गर्ने प्रवृत्ति निकै बढेको छ। ल्यापटप, कम्प्युटर र मोवाईलमा व्यस्त भएका छोराछोरीले पढाईमा ध्यान दिए भनेर अभिभावक मख्ख पर्ने उता बिद्यार्थीहरु भने ज्ञानगुनका कुरा सिक्ने भन्दा पनि कुलतमा हिड्ने प्रवृत्ति मौलाएको छ। यस्तो समस्याबाट बिशेष गरी शहरी क्षेत्र, इन्टरनेट र कम्प्युटरको सहजै पहुँच भएका ठाउँमा बालबालिकाहरुमा बढि देखिन्छ। अहिले बच्चाहरु रुने, कराउने, झगडा गरेमा आमाको दूध र खानेकुरा दिनुको साटो मोवाईलमा गेम र गित लगाई दिएमा खुसी हुने गरेका पाईन्छ। मोवाईल भएपछि बच्चाहरुलाई मम्मी र माम पनि नचाहिने भएपछि कतिपयले आफ्ना बच्चाहरुलाई खुसी राख्न मोवाईलमा गित र गेम लगाई दिने र आफु पनि फेसबुक, टिकटकमा मस्त भएर बस्ने प्रवृत्ति बड्दो छ। अझ कतिपय बच्चाहरुलाई त मोवाईल नदिएसम्म खाना पनि खादैनन। बच्चाहरुलाई फकाउन मोवाईल दिने चलन झटट् हेर्दा सजिलो भए
पनि दीर्घकालिन दृष्टिले हेर्दा यो निकै घातक सावित हुने चिकित्सकहरुको भनाई छ। इन्टरनेटमा पोर्नको लतले गर्दा किशोरकिशोरीहरु हस्तमैथुन गर्ने, कलिलै उमेरमा यौनक्रियाकलाप तिर आर्कषित भएर प्रेममा फस्ने, पढाई छाड्ने, जर्वजस्ती करणीमा लाग्ने, टोलाउने, एकान्तमा बस्न मन पराउने, निन्द्रा नलाग्ने, साईबर क्राइम गर्ने, घरवाहिर हिडन नरुचाउने, साथिहरुको लहैलहैमा लागेर, रमाईलोका लागि नसालु पदार्थको सेवन गर्ने समस्या देखिन सक्छ।
मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पार्दछ। मोबाइल चलाउनु एकप्रसारको नसा जस्तै भएकोले नसालु पदार्थ सेवन गर्दा शरीरमा देखिने अनेक खालका समस्याहरु मोवाईल चलाउदा पनि देखिन्छन। मोबाइल चलाउदा मस्तिस्कले केमिकल रिलिज गर्दा खुशी बनाउने खालको हर्र्माेन बनाइदिन्छ। शुरुमा मोबाइल चलाउदा खुशी भएपनि बिस्तारै मस्तिष्क सुस्त हुदै जान्छ।
“डिजिटल पाठ्यक्रम बनाएर अनलाईनमा नगए लाभ भन्दा हानी गर्छ”
डा. सुशिल कडेल (नेपाल साइकोलोजिकल सेन्टर)
अनलाईन शिक्षा बाहेक विकल्प नरहेको हुँदा परिवार चनाखो हुनुपर्ने अवस्था छ। विद्यार्थी कस्तो अवस्थामा छ हेर्नुपर्ने हुन्छ। विद्यालयमा ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई २४ घण्टामा ४५ मिनेटको समयसम्म र ५ वर्ष भन्दा बढिका बालवालिकाहरुलाई २ घण्टा सम्मको अनलाईन क्लास लिन सकिन्छ। त्यो भन्दा बढी भएमा मोवाइलमा हुने ईलेक्ट्रीक तथा भाइव्रेट रेहरुले बच्चाको दिमागमा नकरात्मक असर पार्छ। दिमागका सेलहरुलाई मार्छ।
विद्यालयमा पढाइने शिक्षाको विकल्प अनलाईन शिक्षा होइन। विद्यालय समयमा विद्यार्थीहरुलाई अनलाईन शिक्षा दिनुको कुनै अर्थ छैन। चक र डस्टरले पिटेर शिक्षा दिएको हाम्रो समाजमा अनलाईनबाट स्पेशल शिक्षा कसरी हासील गर्न सक्लान्। विकल्प अनलाईन क्लास होइन यो त रेफरेन्समेन्ट क्लास मात्र हो। सबैभन्दा पहिला शिक्षक र विद्यालयले डिजिटल कक्षाको बारेमा बुझेका नै छैनौं भने यसको कुनै मतलव हुँदैन। नेपाल सरकारले ३/४ वटा स्लाइड बनाएको भरमा अनलाईन शिक्षा सकरात्मक होइन नकरात्मक बढी बढ्छ। यो एउटा अल्टरनेटिभ मात्र हो, परिपुरक होइन।
११, १२ कक्षा पढ्ने बालबालिकाहरु फ्रड्टेशन भएका छन्। विद्यार्थीहरुसँग कुनै सहकार्य छैन उनिहरु निरिह बनेका छन्। शिक्षक र अभिभावकले बुझ्नु पर्ने भएको छ। विद्यार्थीले अनलाईन कक्षाबाट कति बुझेको छ। सामान्यतया ३० प्रतिशत विद्यार्थीले पनि अनलाईन कक्षाबाट केही पनि बुझेका छैनन्। ४–५ जना विद्यार्थीले केही बुझे भन्दैमा खुसी हुनुपर्ने कुनै कुरा छैन। अब विद्यालयले पहिला डिजिटल पाठ्यक्रम अनलाइन एलएमएस (लर्निङ म्यानेजमेन्ट सिस्टम) बनाउनुपर्छ।
अब यसको विषयमा खुलेर बहस गर्नुपर्ने बेला आएको छ। अभिभावक–अभिभावक, अभिभावक –शिक्षक, अभिभावक–विद्यार्थी अन्यथा यसले विद्यार्थीहरुलाई सदाको लागि अन्धकारमा धकेल्छ।
सामान्यतया कक्षा ६ मा पढ्ने विद्यार्थीले पोर्न साइड, भिडियो गेम, टिकटक, फेसबुक हरु हेर्न सुरु गरेको पाइन्छ। अनलाईन क्लास पढ्ने विद्यार्थीमा १० जनामा ३ जना विद्यार्थी यसको लतमा फसेका पाइन्छ। यो झण्डै ३० प्रतिशत मा समस्या देखिएको हो। सुरुमा जेनेरेटिक हुन्छन् पछि त्यो नै उनिहरुको लत बन्न जान्छ। किशोर किशोरी अन्य नकरात्मक कृयाकलाप तर्फ उन्मुख हुन्छन् जसले गर्दा पछि ठूलो समस्यामा फस्छन् त्यसबाट उन्मुक्ति पाउन निकै कठिन हुन्छ।
“क्लास सकिएपछि मोवाईल चलाउन दिनुहुँदैन”
हेमन्त अधिकारी – अध्यक्ष (एन प्याब्सन कास्की)
अनलाइन कक्षा कास्कीका वोर्डिङ स्कुलहरुमा ६० देखि ८० प्रतिशत जति छ भने सरकारी स्कुलमा २० देखि ३० प्रतिशत सम्म विद्यार्थीहरुले पढेको जानकारी आएको छ। समग्रमा भन्नुपर्दा ४० देखि ५० प्रतिशत विद्यार्थीहरुले अनलाइन कक्षा लिएका छन्। अभिभावकको निगरानी कम हुनु, विद्युतको समस्या, इन्टरनेटको पहुँको समस्याले गर्दा लाभदायक भने हुन सकेको छैन।
अनलाइन कक्षाबाट मानसिक समस्या हुने समयस्यालाई कम गर्न हामीले बच्चाहरुलाई भौतिक रुपबाट नै पौष १ गतेबाट कक्षा सञ्चालन गर्ने भएका छौं। विद्यार्थीहरुलाई आलो पालो गरि पढाउने भनिएको छ।
विद्यार्थीहरुको सबैभन्दा सुरक्षित स्थान भनेको विद्यालय रहेको हुन्छ। १०–१५ जना विद्यार्थी बराबर १ जना शिक्षक गाइडेन्स राखिएको छ। विद्यालयमा खेल्ने क्रममा एक अर्का सँग भौतिक दुरी कायम गराई, सेनेटाइजर, मास्कको उचित प्रयोग गरि सञ्चालन गर्नेछौं।
अभिभावक सबै सुरक्षित, सचेत हुनुपर्ने हुन्छ। जिम्मेवारी सबै बन्नुपर्ने हुन्छ। विद्यार्थीको पठनपाठनलाई ख्याल गरी बालवालिकाले अनलाइन कक्षा पश्चात मोवाइल चलाउन दिनुहुँदैन। विद्यालयमा पठनपाठन गर्दा स्वास्थ्यको ख्याल गरी सामाजिक दुरी कायम गर्ने, सरसफाईमा ध्यान दिने, मास्क र सेनिटाइजरको उचित प्रयोग गरि विद्यालय आउन अनुरोध गरेका छौं। अनलाइन पढाउन अभिभावकहरुलाई अप्ठारो महसुस भएको, बालबालिकाहरु मोवाइलमा बढी झुण्डिने स्वभाव बढेको, पढनपाठन भन्दा पनि बढी मोवाइल चलाउने प्रबृत्ति बढेको छ। केही अभिभावकहरुले भौतिक रुपमै पढन पाठन गर्दा कोरोनाबाट संक्रमित हुने हो की भनी डराइरहेको अवस्था समेत देखिन्छ।
“विद्यार्थी विग्रन नदिन सचेत छौं, अभिभावकहरुपनि चनाखो हुनुपर्छ”
प्रेम शर्मा – अध्यक्ष (प्याब्सन कास्की)
कास्कीमा प्यावसनमा रहेका सम्पूर्ण विद्यालयबाट अनलाइन कक्षाहरु सञ्चालन भएको छ।
बच्चालाई अनलाइन कक्षा सकरात्मक छैन। यो प्रयोग गर्न नजान्नु नै सबैभन्दा बढी घातक हुन्छ। अझ भन्नुपर्दा लामो समय सम्म मोवाइलको नजिक बस्ता साना बालवालिकाहरुलाई ३ वटा समस्या देखा पर्ने चाइनाको एक अनुसन्धान विज्ञ टोलीले जानकारी गराएको छ। पहिलो मस्तिष्कमा असर पार्नु, दोस्रोमा आँखाको ज्योति गुम्नु र तेस्रोमा समयको बर्वादी हुनु भनेको छ। अहिले अभिभावकहरुले बच्चालाई मोवाइल दिनु बाध्यता हो। पहिला केही मात्रामा चलाउँदा त समस्या देखिएको थियो भने अहिले अनिवार्य जस्तो भएको छ यसले समस्यालाई झन जटिल पारेको छ। बच्चाहरुले गेमखेल्दा अन्य सामाग्रीहरु चलाउँदा उनिहरुमा लत बस्छ र अभिभावक केही बोल्यो भने कुनै बालवालिका रिसाउने, झर्कने गर्छन्। हामीले यसको समाधानको लागि केही प्रयास गरेका छौं। मिटिङमा अनलाईन कक्षाको बारेमा कसरी सुरक्षित रहेर काम गर्न सकिन्छ त्यो बारेमा जानकारी गराएका छौं। हाम्रो देशमा आवश्यक प्रविधि नभएतापनि छिमेकी राष्ट्रहरुको अनुसार शिक्षा प्रणालीलाई अगाडि लानुपर्ने देखिएको छ। अनलाईन कक्षा सञ्चालनमा अभिभावकहरुले पनि चासो राख्नुपर्ने हुन्छ। मेरो नानीबाबुले कस्तो पढेको छ र कति समय पढेको छ। ध्यान के मा छ भन्ने बुझ्नुपर्छ। बच्चालाई निरन्तर अनलाइन बस्नु राम्रो हुँदैन उनिहरुलाई समय समयमा फिजिकल एक्सरसाइज गराउनुपर्छ। कोरोनाको संक्रमणलाई न्युन गर्ने उपायहरु अवलम्बन गरी भौतिक रुपमा नै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ।
अभिभावकहरुले बुझ्नुपर्ने कुरा के हो भने यु केजी र त्यो भन्दा मुनिका पढ्ने नानीबावुहरुलाई अनलाईन कक्षा लिनु नराम्रो हो। १–२ कक्षाामा पढ्ने विद्यार्थीहरुले २४ घण्टामा मात्र २ घण्टा भन्दा बढी अनलाइन कक्षा लिनु नराम्रो मानिन्छ। २ कक्षा भन्दा माथिका विद्यार्थीहरुलाई ३ घण्टा सम्म अनलाइन कक्षा लिन सकिन्छ।
विद्यार्थी, अभिभावक र शिक्षक विचको राम्रो कम्युनिकेशन नै सबै भन्दा स्तरीय शिक्षा हो।
यस्तो समस्या जन्माउछ ईन्टरनेटको कुलतले
साना बालबालिकाको हकमा कुरा गर्ने हो भने उनीहरुलाई भुलाउनको लागि अभिभावकले मोबाइल दिने गरेको पाइन्छ। काम गर्नको लागि पनि बालबालिकालाई मोबाईल दिने र आफू काममा लाग्ने अभिभावकहरु धेरै भेटिन्छन्। जति सानो उमेरमा मोबाइल चलायो त्यतिधेरै असर भइरहेको हुन्छ।
निरन्तर मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँसु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्याहरु आउँछन्। लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो बनाउन पनि सक्छ। आँखामा मात्रै होइन ब्रेनमा पनि असर गर्छ। जसले गर्दा आँखा धमिलो हुँदै जाने , आँखा चिलाउने, आँखा वरिपरिको मासुहरु थाक्ने, आँखा हेर्न नसक्ने निन्द्रा लाग्ने जस्ता विभिन्न समस्याहरु आउँछन्। विस्तारै बालबालिकाको ब्रनेलाई सुस्त बनाइदिन्छ। जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ। यसरी धेरै मोबाईल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशनसम्म हुनसक्ने सम्भावना हुन्छ। ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसंग कुरा नगर्ने जस्ता समस्याहरु लामो समयसम्म देखिन्छ।
शारीरिक समस्या
बालबालिकाले सबै कुरा आफू भन्दा ठूला व्यक्तिहरुसंग सिक्दै जाने हो। बालबालिकाको मानसिक ,शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो यो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ। मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन। हिँडाइमा समस्या हुन्छ । जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन। बालबालिकाको शरीरको विकास जति खेल्ने सक्यो त्यति धेरै हुन्छ तर मोबाइल दिएको बालबालिका एकै ठाँउमा बसेर हेरिरहेको हुन्छन। जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन्।
एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ। जति समयमा बालबालिकाको विकास हुनु पर्ने त्यो मोबाइल लतले एकदमै असर गर्छ।
यसरी छुटाउनसक्नुहुन्छ ईन्टरनेटको लत
ईन्टरनेटका नकारात्मक असरले गाँजेपछि अनेक समस्याहरु देखिन सक्छ। यसबाट छुटकारा दिलाउन अभिभावक, शिक्षक र चिकित्सकले सावधानिपूर्वक समस्याले ग्रस्त बालबालिकाको आनीबानीमा परिवर्तन ल्याउन जरुरी देखिन्छ। लत लागेका बालबालिकालाई एकै पटक समस्या हटाउन सकिदैन। एक घण्टा, आधा घण्टा कम गर्दै लगेर मोबाइलको नसा छुटाउन सकिन्छ। जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ।
अभिभावकले मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु किनिदिनुपर्छ। नाच, गान, संगित, साहित्य, चित्रकला, कलाकारिता, खेलकुद, होमवर्क, घुमफिर लगेर इन्टरनेटको कुलतबाट बचाउन सकिन्छ।
विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी बिद्यार्थी र अभिभावकहरुलाई बारम्बार जानकारी गराउनु जरुरी छ।
यो समाचार हाम्रो पेपर पत्रिका बाघपाइला साप्ताहिकको पहिलो अंक २०७७ मंसीर २८ गते प्रकाशित भएको हो। समाचार उत्कृष्ट मानी पठ्नको लागि धेरै जनाको आग्रह अनुसार यो समाचार अनलाइनमा राखिएको हो। – सम्पादक