अधिवक्ता शिवप्रसाद गौतम

मानिसले आफ्नो भाग्य किस्मत, पूर्व जन्मको फल मानिने फललाई प्रारव्ध मानेको छ । पूर्वजन्ममा राम्रो काम गरेकाले यो जन्ममा सुख शान्ति पाउँछन् र यो जन्ममा सत्कर्म गरेको फल यो जन्म र अर्को जन्मका लागि पनि राम्रो हुन्छ भनिएको छ । जसले समस्त प्राणीहरुको हितको काम गर्छ ऊ धर्मात्मा हुन्छ, जसले प्राणीहरुको अहित हुने काम गर्छ ऊ पापी हुन्छ । गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने शास्त्र विहित धार्मिक कृत्य, आफूले ठूलो पाप वा अपराध गरेबापत भएको मानसिक उत्पीडनबाट मुक्त हुन गरिने कुनै कठोर वा विशेष प्रकारको कार्य, भूल गरे बापत बदलामा गरिने कुनै पनि क्षतिपूरक कार्य प्रायश्चीत हो।
यो संसारमा कुन जीवात्मा कति बाँच्ने र घुमफिर गरेर विदा हुने भन्ने कुरा भावीले पहिले नै लेखेर पठाएको हुन्छ भन्ने धारणा छ । मानिस जन्मेको छ दिनमा छैटौं गर्ने चलन छ । यही दिनमा कसको कर्म भनेको भाग्य कस्तो लेखिदिने भन्ने कुरा भावीले निर्धारण गर्दछ अर्थात लेख्दछ । मनुष्यले आफ्नो कर्मलाई पूर्व–नियोजित योजनाको फलका रुपमा स्वीकारेको दैवी विधान, सो अनुसारको कमाई प्रारब्ध भाग्य हो । भाग्यमा रहेको भनि मानिएको कुरो, प्रारब्धमा रहेको शुभाशुभ परिणाम भाग्य लेखा हो । प्रारब्धमा जे छ त्यही मात्र भोग्नु पर्छ भन्ने सिद्धान्त, मान्छेको पूर्वजन्मको कमाई नै भोग्छ भन्ने परम्परा भाग्यवाद हो । भाग्यको भरपर्ने, भाग्यमा निर्भर रहने, भाग्यवादको अनुयायी भाग्यवादी हुन् । भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अड्दैन । दूध दुहेर खानका लागि त ढुम्म्रो मै दुहुनु पर्छ । सुख समृद्धिले पूर्ण भएको, भाग्यशाली, भाग्यमानी, भाग्यवान हुन् । कसैको भाग्य निर्माण गर्ने वा बनाईदिने, भाग्य निर्माता भाग्य विधाता हुन् । सुख–दुखको करण भूत मानिने शक्तिरुप ईश्वर भाग्य विधाता हुन् । राम्रो भाग्य भएका, भाग्यवान, भाग्यमानी, भाग्यशाली हुन् भने भाग्य राम्रो नभएको, भाग्यले ठगिएको अभागी, दुःखी, पीडित भाग्य हीन हुन् । अर्थात जसले सोचे अनुसार पुग्छ त्यो भाग्यमानी हो र केही पनि नपुग्ने भाग्यमानी हो । राम्रो भाग्यको उदय, दिनप्रति दिन हुदै जाने उन्नति, विस्तारै फर्किएका सुदिन भाग्योदयका दिन हुन् ।
यो संसारका सबै मानिस भाग्यमानी हुन चाहन्छन् तर सबैको चाहना पुग्दैन । मानिस ताक्छ मुढो बञ्चरो ताक्छ घुँडा भएको छ । बालक जन्मेको छैटौं दिनमा गरिने उत्सव वा कर्म, त्यस दिन गरिने यस्टिका देवीको पूजा, छैटौं दिनको रात्री, बालकको भाग्य भावीले त्यसै दिन लेख्छ भन्ने परम्परा अनुसार रातभर बालकका नजिकै बत्ती बालिने कार्य, सनातनी सम्प्रदायका सोह्र संस्कार मध्ये नामाकरण संस्कार र जातकर्म संस्कारका बीचको एक अतिरिक्त संस्कार छैटी हो । यही दिनमा भावीले आयु पनि निर्धारण गर्छ भन्ने भनाइ पनि छ । यहाँ भावी भन्नाले भविष्यत काल आउँदो समय, पछि गएर नभई नहुने कुरो, हुनेहुतामी, भाग्य तग्दिर भावी हो । समयकाल तीन प्रकारका छन् । (१) भूतकाल (२) वर्तमान काल (३) भविष्यत काल । यी तीन कालको सदुपयोग गरेर कर्म गर्नेहरुको जीवन सफल हुन्छ । जीवन सफल हुनु भाग्यमानी हुनु हो । भूतकाल भनेको बितेको समय हो । भविष्यतकाल भनेको पछि आउने समय हो भने वर्तमान काल भनेको अहिलेको समय हो । भूतकाल बितेर गयो फर्केर आउँदैन इतिहासमा सीमित रहन्छ । भविष्यतकालमा के हुन्छ के हुँदैन निश्चित हुँदैन अनिश्चित हुन्छ । वर्तमानकाल नै सर्वोत्कृष्ट समय हो । यसलाई खेर नफालिकन काम ग¥यौ भने हाम्रो जीवन सुखमय हुन्छ । आफू समयमा काम नगरी हल्लेर खाने अनि आफूले भने अनुसार भएन भने प्रारब्धलाई र भाग्यलाई दोष दिने वर्तमान पिढीको बानी व्यहोरा छ । यस्ता व्यक्ति कहिल्यै पनि सुखी हुन सक्तैनन् । आफू कर्म नगरे अनि भनेको पुगेन भनेर म अभागीको पुर्पुरो भनेर हातले पिट्नाले केही फाइदा हुँदैन । भाग्यलाई दोष नदिई सबैले काम गरी संविधानले परिकल्पना गरेको सम्वृद्ध नेपाल सुखी नेपाली भन्ने उद्देश्य पूर्ण रुपमा सफल हुन सक्छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने उखान सत्य सावित हुन जान्छ ।
काम गरेर केही पनि दुःखी हुँदैन । काम गर्ने नै सुखी हुन्छन् । भागवत गीतामा भगवान् कृष्णले कर्म गर फलको आसा नराख भन्ने अर्ति मानवलाई दिनु भएको छ । काम गर्नाले शरीरको व्यायाम हुन्छ, अर्थलाभ हुन्छ खान रुची हुन्छ । काम गर्दा थकाइ र भोक दुवै लाग्छ । भोक लागेपछि खान रुच्छ । समयमा निद्रा लाग्छ । शरीरले आराम पनि पाउँछ । काम नगर्नेहरुलाई आलश्य लाग्छ, आलश्य लागेपछि खाना पनि रुच्दैन । स्वस्र्थ र दीर्घ जीवन बताउनु छ भने समय तालिका मिलाएर काम गर्नुपर्छ । काम काम भनेर मरिहत्ते पनि गर्नु हुँदैन । शरीरको पनि ख्याल राख्नुपर्छ । प्रकृतिले मान्छेलाई काम गर्ने र आराम गर्ने समय निर्धारण गरेको छ । दिनमा काम र रातमा आराम गर्नुपर्छ । दिनमा काम नगरी सुत्ने र रातमा नसुत्नेहरु रोगी हुन्छन् । जसले गर्दा आयु क्षिण हुन्छ । एक रातको निद्रा गुम्यो भने त्यसले सात रात पिर्छ भनिन्छ । शरीरलाई भोजन र निद्रा अनिवार्य छ ।
ऐले समाजमा गर्नुपर्ने काम नगरी छलीछली हिड्ने वा ठग्ने, काम नै नगरी उत्तरदायित्वबाट पन्छिने प्रवृत्ति भएकोले देशको विकास हुन सकेको छैन । काम नगर्ने अनि आफ्ना आवश्यकता पूर्ति भएनन् भने प्रारब्धलाई दोष दिनेहरु प्रशस्त छन् । आफू काम नगरी हल्लने र भाग्यलाई दोष दिने चलन पनि छ । काम गरेर कोही पनि सानो हुँदैन । आफ्नो काम आफैले गर्नु स्वावलम्बीपन हो । देशका नागरिक स्वावलम्वी हुन्छन् त्यो देशको विकास हुन्छ । अरु माथि भर पर्नु र सहयोग लिने जस्तो घृणित कार्य अर्को हुँदैन । आफूले प्रयास गर्दा सफल हुन नसके अरुको सहयोग आवश्यक पर्छ र लिनुपर्छ ।
यो संसारमा आपसी भरभरमा व्यवहार चल्छ तर अरुको मात्र भर पर्नु हुँदैन । वर्तमान युगमा प्रारब्ध भन्दा पनि जनता द्वारा निर्वाचित राष्ट्रिय प्रति निधीहरु भएको व्यवस्थापिका सभाले राष्ट्रलाई व्यवस्थित रुप दिन बनाएको ऐनको रुप लिएको नियमहरुले पनि त्यो देशका जनताको भाग्य निर्भर गर्दछ । जनताले प्रारब्ध त बाध्यताले भोग्नै पर्छ । तथापी राज्यका ऐन नियममा भएको व्यवस्थाले पनि व्यक्तिगत जीवनमा प्रभाव पार्छ । कतिपय भाग्यमानी मानिसहरु ऐनको कारणले सजाय भोग्न बाध्य हुन्छन् ।