राजनीति भन्ने वित्तिकै अहिले नेपाली जनताहरुमा वितिष्णा जाग्न थालेको पाइन्छ । राजनीतिलाई सेवाको भावना भन्दा पनि व्यापारिक संस्था बनाउने केही पात्रहरुको कारण जनताहरुमा वितिष्णा जाग्नु स्वभाविक बन्दै गएको छ । पछिल्लो समयमा स्वतन्त्रबाट जितेका अनुहारले आफ्नो पालिकामा गरेका कामले गर्दा पनि दलहरुलाई प्रत्यक्ष असर परेको छ ।
राजनीतिमा ठेकदार, गुण्डागर्दी गर्दै आएकाहरु र कालो धनलाई संरक्षण गर्ने केही पात्रहरु प्रवेश हुँदा झन यसलाई धमिल्याउने काम भइरहेको राजनीतिक विज्ञहरुको भनाई रहेको छ ।
भनिन्छ, राजनीति र समाजसेवा एक सिक्काका दुई पाटा हुन्। यी दुई जुन क्षेत्रमा लागे पनि उस्तै–उस्तै काम हुन भनिन्छ। राज्यको नीतिभित्र रहेर राजपाठमा अहम् भूमिका निर्वाह गर्ने अगुवाइ गर्ने, नेतृत्व प्रदान गर्ने र बृहत्तर राष्ट्रिय र मानवहितमा समर्पण रहनुको अर्थ नै राजनीति हो ।
तर पछिल्लो समयमा नेपालमा नेताहरुलाई आफ्ना पितृ उद्धारमा प्रयोग, दीर्घकालिन योजना भन्दा पनि भोट खरिदको पाटोमा लैजाने, आफ्न्त र इष्टमित्रहरुलाई रिझाउन गरिने काम जस्ता नकरात्मक शैलीका बाटो नै नेतृत्व तहमा रहेका नेताहरुले अंगाल्दा राजनीति धमिलो पानीको माछा जस्तो भएको छ ।
राजनीति विना देशको विकास असम्भव रहेको छ । तर यसलाई छोटे ठेकेदारहरुले काम गरेझै प्रदेशका बजेट विनियोजित हुनु, दीर्घकालिन भन्दा पनि भोट बैंक बन्नुले राजनीति शब्दको नै जनतामा नराम्रो छाप पर्न थालेको छ । जनता सजग भएपनि जननिर्वाचित नेताहरुले काँचुली फेर्दा नेपालको राजनीति नै धरापमा पर्ने संकेत देखिएको छ ।
कति नेताहरुले आफ्ना बाउ बाजेले आर्जेको सम्पत्ति घर, जमिन बेचेर राजनीतिमा त्याग गरेर अगाडि बढेका छन् भने कतिले राजनीतिबाट कुनै फाइदा नलिई जनताको सेवामा अर्पण गरेका छन्, जसलाई मृत्युपछि मात्र उनिहरुको गुनगान गाउने गरिन्छ । जीवित छँदा उनिहरुका कुनै पनि सिद्धान्तलाई आत्मसात गरेको पाइदैन ।
यही मंसीर ४ गते हुने भनिएको संघ र प्रदेशको आम निर्वाचनमा सहभागी नेताहरुले आफूले टिकट पाए जित्ने अरु कुनै विकल्प नभएको भन्दै केन्द्र धाएका तस्विरहरु यत्र तत्र सर्वत्र देखिन थालेका छन्, निर्वाचनमा नेताहरुको चुनावी खर्च पनि हरेक वर्ष बढ्दै गएको छ । निर्वाचन आयोगको अधिकतम खर्च भन्दा पनि कैयौं गुणा खर्च गर्ने गरेको पाइएको छ ।
यसरी निर्वाचनमा अनावश्यक खर्च हुनु र जितेका नेताहरुले विकाश योजनाका नामबाट लुटतन्त्र मच्चाउदा जनतामा आशाको बाटा बन्द हुँदा राजनीति शब्द जनतालाई मन नपर्नु स्वभाविक बन्दै गएको छ ।
अब जनताहरुले हाम्रा भन्दा पनि राम्रा व्यक्ति छान्नुपर्ने अवस्था आएको छ । जसले आफ्नो वडा, पालिका, जिल्ला, प्रदेश र देशको विकासमा अहम भूमिका निर्वाह गर्न सक्छन् त्यस्ता व्यक्तिलाई केन्द्रका नेतागणहरुले बुझ्नु आवश्यक छ । टिकट बाड्ने नेताहरुले धनवाला, बलवालाको पछि नलागुन् । जनता मतदान गर्दा जो सुकै पार्टीबाट आएका जो सुकै नेतालाई भोट हाल्दा पनि मन दोधार होस्, कि विकाश प्रेमी नेता दुवै हुन्, उनिहरुमा कुनै खोट छैन, चर्का र मिठा गफ हैन, जनभावना बुझ्ने र दीर्घकालिन योजनाका नेता हुन् भनेर ।