मंसीर १५, पर्वतः
पर्वत र स्याङ्जाको सिमानामा अवस्थित डहरे देउरालीमा शतविज छर्न हजारौं भक्तजनहरु आएका छन् ।
वालाचतुर्दशीको अवसरमा शतविज छर्न तथा तोरन टाग्नको लागि भक्तजनहरु पैदल तथा विभिन्न सवारी साधन लिएर आएका थिए ।
देशका विभिन्न स्थानबाटबाट करिब २० हजार भन्दा बढी भक्तजनहरु भवानी दुर्गाको दर्शन तथा शतविज छर्न डहरेदेउरालीमा आइपुगेको श्री मोक्षद्वार वालसिद्धयोगाश्रम डहरेका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए ।
अघिल्लो वर्ष भन्दा अहिले २ गुना बढी भक्तजनहरुको घुँइचो बढ्यो, सवारी साधनहरु बाघपाइला सम्म लस्कर बन्न पुगेको यो पहिलो पटक हो । उनले भने, भक्तजनहरुले करिब २ घण्टा लाइनमा बसेर भवानी दुर्गाको दर्शन गरेका थिए । भक्तजनहरुबाट स्वइच्छा सहयोग रकम करिब २ लाख भन्दा बढी सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताए।
यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा डहरेदेउराली (निलकण्ठ पर्वत) गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि देशका विभिन्न ठाउँबाट आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले डहरे परिसरमा आइपुग्छन् ।
नेपालीमा ’शतम्’को अर्थ सय र ’बीज’को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि डहरेदेउराली (निलकण्ठ पर्वत) को मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ ।
समुन्द्री सतहदेखि २ हजार २ सय ५९ मिटर अग्लो स्थानमा रहेको डहरेदेउराली पोखराबाट ६३ कि.मी. र कुश्माबाट करिब १९ कि.मी. दुरी रहेको छ भने ६ कि.मी. कच्ची सडक रहेको छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ । डहरेबाट ८ वटा जिल्ला प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ ।
शक्ति पीठको रुपमा मानिने डहरेदेउरालीमा विशाल निलकण्ठ पर्वतको शिरमा माता भवानी दुर्गाको मन्दिर रहेको छ । चारै दिशातर्फ शक्तिका स्वरुपहरु प्रत्यक्ष देख्न सकिने उक्त निलकण्ठ पर्वतमा उत्तर तर्फ कामधेनु गाईको शिर, मोक्षद्वार, विशाल भैरव, सिद्धवावा, दक्षिण तर्फ आसनमा किष्ण, हनुमान जी, सिंह, कालीखर्क तर्फ भगवति दुर्गाको एक पाउ, पुर्व तर्फ झाँक्री महाराज र पश्चिमतर्फ ईच्छाधारी नाग छ भने सतही भागमा गुरु गुफा, शिवालय मन्दीर, अखण्ड अग्निदेव, समाधीस्थल र आश्रम रहेको छ ।
यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजाआजा गर्दै आएको ८५ वर्षिय सन्यासी पशुपत्यानन्द गिरीले जानकारी दिए ।
धान्याञ्चलका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको जानकारी दिँदै उनले उक्त अग्निज्वाला अहिले पनि निरन्तर बलिरहेको छ उनले भने ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ ।
भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ । यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ? यसको कथा रोचक कथा छ, योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो ।’
त्यसैगरी यस पर्वतमा लामा लामा धेरै डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ । यही पर्वतमा ब्रह्माचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए । पौराणिक मान्यताअुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ । यस स्थानमा मानिसहरू विवाह, व्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन्। विशेषतः वाला चतुर्दशी, चैतेदसैँ, महाशिवरात्री, गुरुपूर्णिमा, बडादसैंजस्ता विशेष पर्वहरूमा पुजा अर्चनाको लागि भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ  । साथै यहाँ विभिन्न प्रजातिका वनस्पति एवम् जडीबुटी पाइने स्थानीयवासी बताउँछन् । यहाँ पाँचऔले, हर्रो, बर्रो, सतुुवाजस्ता महत्चपूर्ण जडीबुटीका साथै चितुवा, खरायो, मृगजस्ता विभिन्न प्रजातिका जङ्गली जनावर पाइन्छ । विभिन्न ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यस जङ्गलमा पैँयु, सल्लो, ओखर, खर्सु, उत्तिसजस्ता महत्वपूर्ण काठसमेत पाइन्छ ।