पोखरा,भाद्र ११ |
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालयद्वारा आयोजित प्राध्यापकका लागि क्षमता अभिवृद्धि कार्यक्रमको तेस्रो चरण पोखरामा सम्पन्न भएको छ।

यही भाद्र ६ गतेबाट ११ गतेसम्म गण्डकी प्रदेशका शिक्षाशास्त्र संकायमा प्राध्यापन गर्ने १० ओटा क्याम्पसका ३० जना प्राध्यापकलाई आवासीय रूपमा ४० घण्टे कार्यक्रम गरिएको हो। कार्यक्रमलाई १५ र १५ घण्टाका पाँचवटा मोडुलमा आधारित बनाइएको छ । तिनीहरूमा सहभागितामूलक र नवप्रवर्तनात्मक पेडागोजी, शिक्षण सिकाइमा मूल्याङ्कन शैली, डिजिटल टेक्नोलोजी र ईलर्निङ पेडागोजी, शिक्षा र समाज केन्द्रित उद्दमशीलता एवम् मौलिक ज्ञानको निर्माण र अनुसन्धान तथा प्रकाशन रहेका छन् ।

कार्यक्रमलाई कार्यशाला केन्द्रित बनाइएको थियो । कार्यशालामा प्रा। डा।भीमसेन देवकोटा, प्रा।डा।पेशल खनाल, शिक्षाशास्त्रका सहायक डिन डा, विष्णु खनाल, डा। कमल देवकोटा, डा। प्रेम पौडेल, देवीप्रसाद भट्टराई डा। कमल आचार्य, डा। मोहन पौडेल र परशुराम उपाध्यायले सहजीकरण गर्नुभएको थियो । हरेक दिनमा आठ आठ ओटा सत्रमा सम्बन्धित विषयमा आधारित भई समूह कार्य, जोडीमा कार्य र व्यक्तिगत कार्य गरी सिकाइलाई प्रस्तुतीकरण, अभ्यास र उत्पादनकेन्द्रित बनाइएको थियो।

समापन सत्रमा शिक्षाशास्त्र संकायका डीन प्रा.डा., चित्रबहादुर बुढाथोकीले देशमा सक्षम शैक्षिक जनशक्ति उत्पादन गर्ने दृष्टिले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए। कार्यशालाबाट सिकेको ज्ञानलाई आफ्नो विषयको प्रकृतिअनुसार कक्षाकोठामा उपयोग गर्न आवश्यक रहेकोमा उनले जोड दिए। शिक्षाशास्त्रका सहायक डीन डा.विष्णु खनालले शिक्षाशास्त्र संकायमा हुने शिक्षण सिकाइ कार्यलाई प्रभावकारी बनाउनाले समग्र शिक्षा क्षेत्रमा परिवर्तन आउने बताए।

पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले विभिन्न विश्वविद्यालयमा यस प्रकारका कार्यक्रम हुने गरेको सन्दर्भमा शिक्षाशास्त्र संकायद्वारा गरिएको कार्यक्रम प्रशंसनीय रहेको बताए। उपप्राध्यापक यादवराज अधिकारीले यस प्रकारको कार्यक्रमको निरन्तरता हुनुपर्नेमा जोड दिए। सहजकर्ता कमलराज देवकोटाले २१ औँ शताब्दीका शैक्षिक चुनौतीलाई सहकार्यात्मक सिकाइद्वारा समाधान गर्न सकिने विचार राखेका थिए।

कार्यक्रमप्रति प्रतिबिम्बात्मक प्रस्तुति राख्ने क्रममा कृष्णप्रसाद त्रिपाठी, पदम न्यौपाने, डा. विष्णुप्रसाद शर्मा, डा. पितृराज बास्तोला, डा. पिताम्वर पौडेल, डा. सुशील शर्मा भट्टराई, सरोज अर्याल तथा विष्णु सुवेदीले कार्यक्रम उपलब्धिमूलक भएकाले यसको कार्यान्वयन पक्षमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । यसपछिको ३५ घण्टे सिकाइ अनलाइनबाट हुने बताइएको छ।

विश्व बैंक र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित यस प्रकारको कार्यक्रम यसपूर्व पहिलो चरणमा वागमती प्रदेशको काठमाडौँ र दोस्रो चरणमा कोशी प्रदेशको भेडेटारमा सम्पन्न भइसकेको छ भने चौथो र पाँचौं चरणको कार्यक्रम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने सहायक डीन डा. विष्णु खनालले जानकारी गराए।