त्रिभुवन विश्वविद्यालय. पृथ्वीनारायण क्याम्पस पोखरामा शुक्रवार डा. विष्णुप्रसाद शर्माको नेपाली भाषा कक्षामा सिकाइ सहजीकरण शीर्षकमा आधारित शोध प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा डा. शर्माले आफ्नो शोधकार्यबाट योजनाबद्ध सिकाइ सहजीकरण नै अर्थपूर्ण सिकाइको आधार भएको निष्कर्ष आएको स्पष्ट पारे ।

अध्ययनका क्रममा कास्की र स्याङ्जा जिल्लाका अभिभावक, विद्यार्थी र शिक्षकसँगको गहन अन्तर्वार्ता, लक्षित समूह छलफल तथा कक्षा अवलोकनबाट प्राप्त अध्ययनका आधारमा हाम्रो वर्तमान सिकाइ सहजीकरण शैलीमा सुधार ल्याउन आवश्यक रहेको उनले बताए ।

नेपालको शैक्षिक इतिहासमा १९५८ देखि २०२७ सम्मको समयलाई शिक्षणको प्रारम्भिक चरण, २०२८ देखि २०७० सम्मको समयलाई भाषाशिक्षणको चरण र २०७१ यताको समयलाई सिकाइ सहजीकरणको चरण मान्नुपर्ने उनले प्रस्ताव राखे । यसैगरी हाम्रा कक्षा शिक्षण कार्यहरु पर्याप्त सिकारुमैत्री र सहभागितामूलक बन्न नसकेकाले पनि सिकाइ उपलब्धि बढ्न नसकेको उनले बताए ।

यसका लागि सिकाइ सोपान (व्यक्तिगत, जोडीगत, समूहगत र समग्र कक्षागत सिकाइ) मा आधारित शैक्षणिक कार्यकलापको उपयोग गर्दै सिकारुका सिर्जनात्मक कौशल, जिज्ञासामूलक भावना र विश्लेषणात्मक सोचको उपयोग गर्न आवश्यक रहेकोमा उनले जोड दिए । समतामूलक, योजनबद्ध र अभिलेखमा आधारित सिकाइ रणनीतिका माध्यमबाट सबै क्षेत्र, वर्ग, लिङ्ग र क्षमताका सिकारुलाई सिकाइको मूल प्रवाहमा ल्याउन सकिने उनले जनाए । शर्माले सिकाइमा सदैव सिकारुका शैक्षणिक र मनोवैज्ञानिक पक्षलाई ख्याल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा प्रा. डा. यदुनन्दन उपाध्याय, प्रा.डा, विकासकुमार केसी, डा. ईश्वरमणि अधिकारी डा. पीताम्बर पौडेल, डा. रामजी गौतम, डा, सुशील शर्मा भट्टराई, डा. भूमिराज जस्ताकोटी, त्रि.वि.प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पसका सभापति डा. लक्ष्मीशरण अधिकारी, उपप्राध्यापकहरू हिममाया पौडेल, कृष्णप्रसाद त्रिपाठी, सुरज पौडेल, जमुना अर्याललगायतले अनुसन्धानमा आधारित भएर विभिन्न जिज्ञासा राख्नुका साथै आवश्यक सुझाव दिएका थिए ।

उक्त क्रममा वक्ताहरुले अनुसन्धानबाट हामीले प्राप्त गरेको ज्ञानलाई कक्षाकोठाको सिकाइमा सुधार ल्याउन र समाजको हितमा काम गर्न आवश्यक रहेकोमा जोड दिए । अनुसन्धानलाई नीति निर्माण र त्यसको कार्यान्वयनसँग सम्बन्धित गराउनुपर्नेमा सबैको सहमति थियो ।

यसका लागि सरकार र शोधकर्ताबिच समन्वय आवश्यक पर्ने उनीहरुले जनाए । नेपाली शिक्षा विभागका प्रमुख उपप्राध्यापक अर्जुनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्याम्पसका क्युएए संयोजक उपप्राध्यापक अमृत भण्डारीले गरेका थिए । कार्यक्रममा विभिन्न विषयका प्राध्यापक, कर्मचारी र शुभेच्छुकहरुको सहभागिता रहेको जनाइएको छ ।