महायज्ञ समापनतर्फ गइरहँदा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको र हालसम्म करिब १० लाख रुपैयाँ सहयोग जुटेको नागेश्वर महादेव विकास समिति अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।
महायज्ञबाट संकलित सहयोगमध्येबाट खर्च कटाएर बाँकी रकम मन्दिरको दीर्घकालीन सञ्चालन, आश्रम व्यवस्थापन आदिका लागि अक्षयकोष राख्ने योजना रहेको उनले जानकारी दिए ।
किंवदन्तीअनुसार आर्वामा बस्ती स्थापना हुँदा मणिद्वीप नागेश्वर महादेव स्थापना गरिएको थियो । स्थानीयका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएको थियो ।
मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतिलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन् । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त हुने विश्वास छ ।
प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको मन्दिर २०६२ सालमा समाजसेवी सूर्यनाथ उपाध्याय बरालको अगुवाईमा पुनःनिर्माण गरिएको थियो ।
२०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्वीपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयको भनाइ छ ।
त्यसयता मणिद्वीपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, १००८ स्वामी सुतिक्षण मुनीजी महाराजलगायत सन्तमहन्तले गरेको मन्दिरका संस्थापक अध्यक्ष धर्मराज बरालले जानकारी दिए ।
मणिद्वीपको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गर्दै यस स्थललाई बहत् धार्मिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने उनले बताए ।
मणिद्वीप प्राचीनकालदेखि नै अस्तित्वमा रहेको धार्मिक तीर्थस्थल भएको नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष शिरोमणि बरालको भनाइ छ ।
उनका अनुसार यस स्थलमा छ पुस्तादेखिका सन्यासीको समाधीस्थलसमेत रहेको छ । यस स्थलमा वेद विद्याश्रम निर्माणलगायतका योजनासमेत रहेको उनले बताए ।
मणिद्वीपलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोँचअनुसार डीपीआर तयार गरी अघि बढिएको पोखरा-१३ का वडाध्यक्ष किरण बरालले बताए । आवश्यक भौतिक पूर्वाधार डीपीआरमार्फत नै विकास गरिने उनको भनाइ छ ।
मन्दिरको संरक्षकका रुपमा रहेका शिवनाथ गिरीजी महाराजको अगुवाइमा मणिद्वीप परिसरमा एक हजार पाँचसउ किलो तौलको विशाल महाकालीको मूर्तिसहितको मन्दिर, अष्ट चिरञ्जीवी, हवन कुण्डलगायतका संरचना निर्माण भइसकेका छन् ।