पोखरा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा जेठ १२ र १३ गते प्राज्ञिक लेखन कार्यशाला तथा भाषा साहित्य विषयक गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले भाषा, साहित्य र कला राष्ट्रका गहना भएको बताए । उनले निरन्तरको अध्ययन र अनुसन्धानबाट मात्र नयाँ नयाँ ज्ञानको निर्माण हुने र यसले समाज रूपान्तरणमा सहयोग मिल्ने धारणा राखे । हाम्रो धर्म र कर्म भनेकै नैतिकता र सदाचार भएकाले यसलाई सदैव ख्याल गर्नुपर्नेमा जोड दिए । गोष्ठीले सहभागीहरूको अनुसन्धान क्षमता वृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमको पहिलो दिनको अनुसन्धान कार्यशालामा अनुसन्धान पत्र लेखनका सैद्धान्तिक र व्यावहारिक विषयमा विमर्श भयो । कार्यशालाको पहिलो सत्रमा सहप्रा. दीपेन्द्र पराजुली तथा उपप्रा. हिममाया पौडेलले अनुसन्धान पत्र लेखनमा विषय क्षेत्र छनोट, शीर्षक चयन, अनुच्छेद विन्यास, सार लेखन र तथ्याङ्कको विश्लेषणमा केन्द्रित रही कार्यशाला गराए । कार्यशालामा समूह कार्य गराई प्रस्तुतीकरण गराइएको थियो।
यसै गरी दोस्रो सत्रमा सहप्रा.डा. नवराज न्यौपाने र उपप्रा. डा. पीताम्बर पौडेलले अनुसन्धानात्मक लेख प्रकाशन प्रक्रियामा देखिने समस्या र समाधानका उपायमा केन्द्रित रही कार्यशाला गराए । अनुसन्धानात्मक लेख लेखन र प्रकाशन दुवै चुनौतीपूर्ण र गौरवमय कार्य भएकाले यसमा शोधार्थीको अध्यवसाय आवश्यक पर्ने बताए ।
गोष्ठीको दोस्रो दिन समूह छलफल (प्यानल डिस्कसन) गराइएको थियो । उक्त छलफलमा सहप्रा. डा. लक्ष्मीशरण अधिकारी, सहप्रा. दीपेन्द्र पराजुली र उपप्रा. सविन्द्रराज भण्डारीले “साहित्यमा उत्तरआधुनिकता र वर्तमानमा यसको उपयोग” शीर्षकमा आआफ्नो विचार राखे । यसमा सर्वप्रथम डा. सविन्द्रराज भण्डारीले सम्बन्धित विषयमा केन्द्रित रही अवधारणा प्रस्तुत गरेपश्चात् समूह छलफललाई सघन बनाइएको थियो ।
उत्तरआधुनिकता पछिल्लो समयमा विभिन्न क्षेत्रमा देखापरेको वाद भएको तथा वर्तमानमा मेटामोडनिज्म र ट्रान्समोडनिज्म आइसकेका सन्दर्भमा साहित्यमा उत्तरआधुनिकताको प्रभाव र वर्तमानमा यसको सान्दर्भिकताबारे बहस गरिएको हो । छलफलमा सहभागीहरूले यस वादको प्रभावलाई समाज र जीवनसँग जोडेर जिज्ञासा राखेका थिए । समूह छलफलको सहजीकरण उपप्रा. डा. भूमिराज बस्ताकोटीले गरेका थिए ।
दोस्रो दिनको दोस्रो सत्रमा प्रा.डा. शालिग्राम सुवेदीले “संस्कृत र नेपाली भाषाका उपसर्गमा रहेको भिन्नता” लाई स्पष्ट पारे । उनले पाणिनीय व्याकरणमा २२ ओटा उपसर्गको उपयोग पाइने र संस्कृत व्याकरणमा यसैलाई आत्मसात् गरिएको तथा नेपाली भाषामा आगन्तुक उपसर्गसमेत जोड्दा उपसर्गको संख्या बढ्न सक्ने बताए । उनले संस्कृतमा उपसर्ग निश्चित र दोषमुक्त भएका तथा नेपालीमा उपसर्ग अनिश्चित र दोषयुक्त भएकाले नेपालीमा उपसर्गको तथ्यपरक अध्ययन गरेर सङ्ख्या निर्धारण गर्न आवश्यक रहेको स्पष्ट पारे ।


गोष्ठीको समापन सत्रमा मन्तव्य राख्दै प्रा.डा. कुसुमाकर न्यौपानेले कार्यक्रमले शोधार्थीमा ज्ञानको क्षितिज फराकिलो हुने बताए । यसै गरी सहभागीहरूको तर्फबाट उपप्रा. गोविन्दप्रसाद गैरे र उपप्रा. नारायणी पौडेलले कार्यशाला र गोष्ठीबाट सिकेका अनुभवलाई आफूले कार्यक्षेत्रमा उपयोग गर्न आतुर रहेको धारणा राखे । उनीहरूले कार्यक्रम रोचक र फलदायी भएकाले यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि सुझाव दिए । कार्यक्रममा सहप्रा. अम्बिकाप्रसाद भट्टराईले गीत तथा उपप्रा. सुरज पौडेलले मुक्तक सुनाएका थिए । त्यसै गरी सहप्रा. आनन्दमणि रिजाल, प्रा.डा. यमबहादुर पौडेल क्षत्री, उपप्रा.सञ्जिव खनाल, उपप्रा. सुलोचना खनाल, साहित्यकारहरू तारा पाखे, डा. टिकाराम आरुणी, गणेश चालिसे, सागर पनेरु, मणि डुम्रे लगायतले भाषा साहित्य र अनुसन्धानका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा चार ओटा गोष्ठी सत्रको अध्यक्षता क्रमशः सहप्रा.डा. भानुभक्त शर्मा कँडेल, सहप्राडा. वासुदेव भण्डारी, प्रा.डा. जगन्नाथ रेग्मी तथा सहप्रा.डा. यमनाथ तिमिल्सिनाले गरेका थिए भने उद्घाटन सत्र र समापन सत्रको सभापतित्व संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपप्रा. हरिश्चन्द्र भण्डारी र कार्यक्रमको सञ्चालन उपप्रा. द्वय गंगाराम पौडेल तथा मदनप्रसाद बरालले गरेका थिए । कार्यक्रममा करिव ७० जनाको उपस्थिति रहेको आयोजकको भनाइ छ ।