पोखरा | माघ १४
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार डरको राजनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो |
कार्यक्रममा संस्थाका सहसचिव मदनप्रसाद बरालले राजनीतिक प्रचारका रुपमा डर : अलगोरको डरको राजनीतिमा एक अध्ययन शीर्षकको अनुसन्धान पत्रमार्फत राजनीतिज्ञले कसरी आफ्नो वा आफ्नो पार्टीको पक्षमा जनमत सिर्जना गर्न डरको भ्रम फैल्याउँछन् भन्ने तथ्यलाई अमेरिका र नेपालका सन्दर्भमा रहेर प्रष्ट पारे |
अनुसन्धानमा बरालले अमेरिकी संस्थापन पक्ष र तत्कालीन राष्ट्रपति जर्जडब्लुबुसले स्लाम समुसाय र उनीहरुका क्रियाकलापप्रति घृणा व्यक्त गर्दै उनीहरुबाट अमेरिकामा त्रास बढेको भन्दै यो कथनलाई चुनाव जित्ने अवसरका रुपमा उपयोग गरेकोमा अलगोरले यो आरोप झुटो हो भनी खण्डन गरेको र जनतालाई सुसूचित बनाउन अलगोरको अभियान केही हदसम्म सफल भएको दाबी गरे | नेपालमा पनि केही राजनीतिक पार्टीहरुले यस्ता लोभ, डर र त्रासजन्य सङ्कथनका आधारमा शक्ति र सत्तामा पुगेका भए पनि यस्ता कार्य साँचो र दिगो नहुने तथ्य अघि सारे |
अनुसन्धान पत्रमाथि टिप्पणी गर्दै डा. नवराज न्यौपानेले अनुसन्धान पत्रलाई अझ वस्तुपरक,परिष्कृत र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए |
उनले सङ्कथन विश्लेषणको ऐतिहासिक पृष्ठभूमि, सङ्कथनका प्रकार, सङ्कथन विश्लेषणका आधार दिँदै अनुसन्धानमूलक लेखमा लेखकीय दृष्टिकोण र तथ्यांकको विश्लेषण सबल रहनुपर्ने सन्दर्भमा जोड दिए |
कार्यक्रममा डा.यामनाथ तिमल्सेना, डा.लक्ष्मीशरण अधिकारी, डा.भूमिराज बस्ताकोटी, पूर्व अध्यक्ष दीपेन्द्र पराजुली, डा.पितृराज बास्तोला,डा.भावना पोखरेल, साहित्यकार वसन्त पराजुली, सुरज पौडेललगायतले सङ्कथन, डरको राजनीति, नेपाल र विश्वको सन्दर्भ,हाम्रो सामाजिक र सांस्कृतिक सन्दर्भ तथा अनुसन्धान पत्रका बाह्य र आन्तरिक पक्षका विषयमा तर्कपूर्ण अभिमत राखेका थिए |
संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए |
संस्थाले हरेक महिनाको दोस्रो शनिबार साहित्यिक, समालोचनात्मक,र अनुसन्धानमूलक कार्यक्रम गर्दै आएको संस्थाका उपाध्यक्ष हिमामाया पौडेलले जानकारी दिइन् ।