वैद्धिक भन्ने वित्तिकै बैदिक कालमा महापुरुषहरुले कठोर त्याग, तपस्या र साधनाद्धारा सिर्जना गरेका अमुल्य दिव्य ज्ञानहरुको खोजी गर्दै आधुनिकताको नाममा भौतिक उपभोग्य सामाग्रीहरुले कुरुप पारेको जीवन र जगतलाई थप क्षति हुनवाट जोगाउन दिव्य ज्ञानहरुको आवश्यकतामाथि प्रकाश पार्नको लागि लेखिएको रचना वा वेदलाई बुझ्ने गरिन्छ त्यसैगरी आध्यात्मिक ज्ञानले वेलगाम घोडा जस्तै मन, मस्तिष्क र ईन्द्रियहरुलाई अधिनमा राखेर जीन्दगीको अन्धकार खाल्डोमा पर्नवाट जोगाउन मद्धत गर्ने गर्दछ। त्यसैगरी साधनाले कुनै पनि कार्यमा दत्तचित्त भएर काम काम गर्नको लागि उत्प्रेरीत गराउने गर्दछ।
मानवीय जीवनमा योग ध्यान, साधना त्यतीनै महत्पूर्ण रहेको पाइन्छ। परिवर्तीत समय सँगै परिवर्तन भएको समाजमा मानिस व्यक्तिवादी, स्वार्थी, एकलकाटे, शक्ति, सम्पति, सुरा, सुन्दरीप्रतिको आर्कषण र जीवनमा परेको दु:ख, कष्ट, रोगहरुको शिकार, मानिसको तनमन विचलित र मस्तिष्कमा भएका विकृति, विसंगती खराव सोच, संस्कार, चिन्तन वढ्दा जीवन र जगतमा ठूलो समस्या देखिदै गएको पाइन्छ।
मानिस चेतनशिल प्राणी हो । अन्य प्राणीहरुको तुलनामा अलौकिक चेतना भएकै कारण मानिसले आफुलाई धर्तीका जीवहरु मात्रै होइन, अन्तरिक्षसम्म पहुँच बनाउन सफल भएको छ । आदीम युगमा निरीह प्राणीहरुमध्येको एक मानव जातिले आफ्नो अस्तित्व जोगाउन निकै ठुलो संर्घष गरेका तथ्यहरु ऐतिहासिक खोज र विज्ञानले पुष्टी गरिसकेको छ । धर्तीका प्राणीहरुमध्ये अत्यन्त जिज्ञासु मानव जातिले भइपरी आउने समस्या मात्रै होइन, देखे, भोगे, सुनेका साथै मनमस्तिष्कले कल्पना गरेका कुराहरुमा समेत सत्यतथ्यसँगै अन्य विविध पक्षहरुको वारेमा खोजवीन गर्ने बानीले धेरै भन्दा धेरै रहस्यहरुको खुलासा गर्न सफल भएको छ । दैनिक जीवन र जगतको सुख, शान्ति र समृद्धिको लागि आवश्यक ज्ञानगुन, शिक्षा, सिद्धान्त, आर्दश, दर्शन, मुल्य, मान्यता, संस्कार स्थापित गरेको छ । पानीमा माछा भन्दा छिटो कुदने पानी जहाज, आकासमा चरा भन्दा माथि उड्ने हवाई जहाज र घोडा भन्दा छिटो दौडने मोटरकारहरुको आविष्कार गरेको छ । मानिसभित्र भएको चेतना, सिप, ज्ञानले हावा, पानी, धर्ती, आकास र प्रकृतिका विभिन्न बस्तुहरुलाई समेत आफ्नो अधिनमा पार्न सक्ने अद्भूत स्रोत र साधनको आविष्कार गरेका छ ।
मानिसभित्र निहीत चेतनाले जन्माएका अनेकौ पक्षहरु केलाउदा तिनिहरुलाई मुख्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा पक्ष भनेको विचार, सिद्धान्त, दर्शन, शिक्षा पर्दछ भने अर्को भनेको आविष्कार गरिएका भौतिक स्रोत, साधनहरु ।
मानवको मन, मस्तिष्क र ज्यानको सुख, शान्ति, समृद्धि र सुरक्षाका लागि ज्ञान र साधन एउटै रथका दुई पांग्रा जस्तै हुन । जसरी एउटा पांग्रा विना रथ अघि बढन सक्दैन त्यसैगरी ज्ञान र साधन विना मानव जीवन सफल हुन सक्दैन ।
धर्तीका सवै जीव र जगतका लागि स्थापित मूल्य, मान्यता, कर्म, धर्म, संस्कार र संस्कृतिलाई मानिसहरुले भूगोल, धर्म, जाति, सम्प्रदाय अनुसार विभिन्न नामले अवलम्वन गर्दै आएका छन । विशेष गरी एसिया महादेशमा बैदिक कालमा सिर्जना गरिएका अनेक वेद, धार्मिक ग्रन्थ, पौराणीक कथा, जसलाई पूर्विय दर्शन भनेर पढिदै आएको छ । हिन्दू धर्मको नामवाट लोकमा स्थापित बैदिक ग्रन्थहरुमा जीवन र जगतको शुरुवातदेखि संचालन र अन्त्यसम्मका अनेक रहस्यहरु बारे चर्चा गर्दै लोक र सम्पूर्ण प्राणीहरुको कल्याणका लागि मार्गदर्शन समेत गरिएको छ । बैदिक, धार्मिक, आध्यात्मिक पक्षले धर्ती मात्रै होइन, अन्तरिक्ष र व्रम्हाणको कल्याणको लागि त्याग, तपस्या र साधनामार्फत आपसी प्रेम, सद्भाव, माया, करुणा, मेलमिलाप, प्रकृतिको संरक्षण जस्ता पक्षमा जोड दिएको छ । कलह, युद्ध, झगडा, हत्या, हिंसा, शोषण, दमन, उत्पीडनबाट मुक्ति पाउनका लागि मानव जीवनमा अन्धकाररुपी काम, क्रोध, लोभ, मोह, अंहकार जस्ता विकृतिलाई त्याग्नुपर्ने वताउँदै खराव पक्षमाथि जित हासिल गर्ने उपायहरु र मार्गदर्शन पनि गरिएको छ । संक्षेपमा भन्नुपर्दा मानव जातिले भोक, रोग, शोक, पीडा, व्यथावाट पार पाउनका लागि त्याग, वलिदान, तपस्या, योग, साधना, धर्म र कर्मलाई अगाल्नुपर्ने बताउँदै त्यसका विधिहरुको पनि व्याख्या गरिएको छ ।
संसारमा सुख, शान्ति, समृद्धि, समानताको लागि अनेक धर्म, संस्कृति, ग्रन्थ, साधनहरुको आविष्कार गरिएको छ । फेरि पनि मानिस मानिसवीच बड्दो आर्थिक, सामाजिक, भौगोलिक दूरी र सत्ता, शक्ति, सम्पति, सुरा र सुन्दरी प्राप्तीको होडमा सधै दु:खी बन्न पुगेको छ । बाहिरी तन जतिसुकै किमति पहिरन र गहनाले झकिझकाउ भएपनि भित्रि मन, मस्तिष्कमा सधै भय, डर, त्रास, आंशकाले कव्जा गरेका छन । सुख र समृद्धिका लागि अनेक आधुनिक स्कुल, अस्पताल, भौतिक स्रोत साधन भएपनि बैदिक कालमा ऋषिमुनी, नागरिक र महापुरुषहरु जति सुख, शान्ति र सुरक्षित भएर बाँचेका थिए त्यस्तो जीन्दगी पाउन सकेका छैनन । सुन्दर प्रकृतिको काखमा एकसरो लुगा, फुसको झुप्रोमा सादा खाना खाएर दीर्घ जीवन बाचेका पूर्वजहरुको जीवनशैली अचम्मित पार्ने खालको छ । अहिले जो जसले पूर्वजहरुले सुख, शान्तिको लागि अवलम्वन गरेका योग, साधना र आध्यात्मिक शिक्षालाई पछयाएका छन उनीहरुले पनि अपार सुख, शान्ति, निरोगीता र सफलता पाएका पाईन्छ । त्यसैले जीवन र जगतको सुन्दरताको लागि योग, साधना र आध्यात्मिक शिक्षाको औचित्य, आवश्यकता र महत्व अनिवार्य छ ।
योग, साधना, ध्यानले जीवन र जगतमा ल्याउने परिवर्तन
मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्दछ, अध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ ।
आज जतिपनि ठूला ठूला महात्मा बनेका छन, ती सवै योगको माध्यमबाट बनेका छन । ईश्वरको आराधनादेखि लिएर शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्न तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको आवश्यकता भएको हुन्छ ।
प्राचीन कालमा कलात्मक रुपमा साधना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो शक्ति छ कि यसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग साध्न सकिन्छ ।
योगमा साधकका लागि जस्तोसुकै कुरा पनि असम्भव हुँदैन । अहिलेका मान्यताहरुको कुरा गर्दा योग मात्र केही शारीरिक व्यायाममा मात्र सीमित छ । यहाँसम्म कि यति धेरै प्रसिद्ध हुँदा पनि अहिलेसम्म योगको कुनै खास परिभाषा समेत सुनिश्चित गरिएको पाइदैन ।
योगको कुरा गर्ने हो भने वैदिक संहिता र वेदहरुमा तपस्वीहरुबारे उल्लेख गरिएको पाइन्छ । योग गर्ने साधकलाई पनि योगी भनिन्छ । योगी शब्द तपस्वीहरुका हकमा पनि प्रयोग हुन्छ । योग मानिसको कुरा छोडौं पशुपन्छीले समेत गर्दछ । मानव स्वास्थ्य ठिक बनाउनको लागि योगको महत्व धेरै छ ।
हामीले जस्तोसुकै काम गर्छौ भने पनि त्यसलाई योगको अंश मान्न सकिन्छ । आफ्नो शक्ति सामथ्र्य अनुसार प्राप्त उठ्ने बित्तिकै हल्का व्यायम गर्नु राम्रो हो यसले शरीरमा भएका सवै अंगलाई क्रियाशील बनाउदछ । स्वस्थ रहन र बाच्न जति खानाको आवश्यक हुन्छ त्यो भन्दा बढी स्वस्थ रहन योगको खाचो हुन्छ ।
योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो । यो वैज्ञानिक र व्यवहारिक छ । त्यसैले आत्म अनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक छ । योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ ।
पोखरामा वैद्धिक आध्यात्मिक साधनाको अवस्था
पोखरामा बैद्धिक आत्ध्यात्मिक साधनाको अवस्था हेर्ने हो भने करिब १० वटा वेद शिक्षालय रहेको पाइन्छ । जसमा, शिक्षाको पहिलो पाठशाला कक्षा १ देखि सुरु भएको भएपनि प्राय:जसो कक्षा ६ बाट सुरु भएको र उच्च शिक्षाको लागि विन्ध्यवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) लगायतमा पठन पाठन गरिएको छ ।
केदारेश्वर वैद्धिक गुरुकुल विद्याश्रमलगायतका मावि तह मान्यता प्राप्त गरेका विद्यालयहरुको अध्ययन गर्दा आवासिय रुपमा पठन पाठन गर्ने विद्यार्थीहरुको सम्पूर्ण खर्च विद्यालयले गर्दै आएको छ, उक्त खर्चको लागि मन्दीरमा आउने भक्तजनहरुको दान भेटी नै मुख्य स्रोत रहेको व्यवस्थापन समितिले बताएको पाइएको छ।
स्थानीय तथा प्रदेश सरकारले वैद्धिक शिक्षालयलाई सहयोग गर्दै आएपनि उक्त शिक्षाको महत्व र आवश्यकता बारेमा अनभिज्ञ बन्दा बैद्धिक शिक्षाबाट उत्पादन हुने विद्यार्थीहरु के का लागि? भन्ने जस्ता प्रश्नहरु सुन्न सकिन्छ । सामान्य भौगोलिक ज्ञान, आध्यात्मिक ज्ञान, ग्रह चक्र, बालक जन्मेदेखि मृत्यु परान्त गरिने संस्कार, मानविय जिवनलाई सहज र सवल बनाउनको लागि आवश्यक अन्तरज्ञान, जिवन र जगतलाई बुझ्नको लागि संस्कार सिकाउन शिक्षा हुन् । जस्तै : कुख्यात डाकु रत्नकारलाई वैद्धिक आध्यात्मिक साधनाले महाकवी कालिदास बने, राजपरिवारमा जन्मेका राजा सुद्धोधनका छोरा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेर गौतम बुद्ध बने।
सिद्धमहायोग ध्यान साधना केन्द्र
नदिपुर पोखरा–३ कास्की
सिद्धमहायोग ध्यान साधना केन्द्र पोखराको मुटु महेन्द्रपुलबाट करिब १०० मिटरको दुरीमा अवस्थित नारायण मन्दिर परिसारमा रहेको ध्यान साधना केन्द्र हो । यहाँ वार्षिक रुपमा हेर्ने हो भने ३ सय जना भन्दा बढी नागरिकहरुले योग तथा साधना गर्ने गरेको पाइएको छ ।
मानिसले आफ्नो जिवन र जगतलाई बुझ्नको लागि योग र ध्यानको आवश्यक भएकोले पाशुपत सिद्धमहोग ध्यान साधना केन्द्रको स्थापना गरिएको केन्द्रका सञ्चालकहरुले बताएका थिए ।
योग ध्यानले मानिसलाई आफूभित्र भएका नकरात्मक उर्जालाई सकारात्मक उर्जामा परिणत गर्नको लागि विशेष योगदान दिने भएकोले बालकदेखि बृद्ध सम्मको लागि उपयोगी हुने योग गुरु नरेन्द्र शाह बताछन्, उनका अनुसार मानिसको जिवन र प्रकृति, ब्रमाण्ड एउटै रहेको र हामी आफ्नो शरिरलाई स्वस्थ्य बनाउनको लागि प्रकृतिसँग घोलिन सक्नुपर्ने बताउछन् । ऋतुहरु अनुसार शरिरलाई समयानुकुल बनाउनको लागि योग, ध्यान गर्दा शारिरीक तथा मानसिक रुपमा स्वस्थ्य भइन्छ । प्राकृतिक उपचार पद्धति भनेको योग हो यसले शरिरलाई कुनै पनि हानी नगर्ने बरु यसले फाइदा पुर्याउ छ, उनले भने, मानिस स्वस्थ्य रहनको लागि भन्ने चलन छ, चराचुरुङ्गी संँगै उठ्ने, घोडाले पिउने मूलको पानी पिउने, शुभ समयमा शुभकामको थालनी गर्ने, आपूmले सक्दो दान गर्ने, आफूभन्दा ठूलालाई आदार गर्ने, आफूभन्दा सानालाई माया गर्ने, धर्मसस्कारको रक्षा गर्ने, आहार विहारमा ध्यान दिने, शरिरलाई स्वस्थ्य राख्नको लागि योग ध्यान गर्ने परिभाषालाई सैद्धान्तिकमा मात्र नभई व्यवहारमा उतार्नुपर्छ अन्यथा समाज कुसंस्कार, कुरीति तथा विसंगति तर्फ उन्मुख जाने देखिएको शाहले बताउछन्।श्री केदारेश्वर वैद्धिक गुरुकुल विद्याश्रम
बोलबम धाम, बैदाम, पोखरा–६, कास्की
फेवाताल किनारामा रानीवन नजिकै रहेकै रहेको केदारेश्वर बैदिक गुरु विद्याश्रमले बिद्यार्थीहरुमा अनुसाशन र आत्मशुद्धिसँगै स्वास्थ्य राख्नका लागि योग र साधनालाई विशेष प्राथमिकता दिएको छ । सवेरै उठेपछि बिद्यार्थीहरु नित्यकर्म गरेपछि तन, मनको शुद्धता र स्वस्थ्यता राख्नको लागि विभिन्न योगासन साधना गर्दछन । जीवन र जगतको शुरुवातदेखि अन्त्यसम्मको रहस्य वुझ्नका लागि योग र साधना नै प्रमुख माध्यम भएको योग गुरु समेत रहनु भएका प्रधानाध्यापक पाठक बताउछन् ।
७७ जिल्लाबाट नै वैद्धिक शिक्षा लिन आएको पाइन्छ हाल कक्षा ६ देखि १० सम्म सञ्चालन भएको उक्त विद्यालयमा ७५ जना विद्यार्थीहरु पठनपाठन गरेको पाइन्छ ।
सुरुवाती चरणमा संस्कृतको धेरै महत्व भएपनि पछिल्लो समयमा संस्कृतलाई कुनै एउटा आस्थाको विषय बनाइदा संस्कृत भाषा कमजोर बनेपनि अहिलेको समयमा भने यसको महत्व बढ्दै गएको पाइएको छ ।
संस्कृति भनेको संस्कार रहेको र बैद्धिककालदेखि संस्कृत शिक्षा चल्दै आएको पाइन्छ, बेद, काब्य, ग्रन्थहरु संस्कृत भाषामा लेखिएको पाइन्छ । जसको अर्थ बुझ्नको लागि संस्कृत भाषाको ज्ञान जान्नुपर्छ । बैद्धिक शिक्षालाई पूर्ण बनाउनको लागि योगको आवश्यकता पर्दछ । शारिरीक तथा मानिसिक रुपमा स्फूर्त बनाउनको लागि योग तथा ध्यान चाहिन्छ, जव कुनै व्यक्ति स्फूर्त बन्छ ।ओशो ध्यान केन्द्र, पोखरा
स्वामी योगानन्द
पर्यटकिय नगरी पोखराको दक्षिणी क्षेत्र दोविल्लामा रहेको यो ध्यान केन्द्रमा विशेष गरी योग र साधनाको माध्यमबाट मानसिक तनाव व्यवस्थापन गरी सुख र शान्तिपूर्वक जीवन विताउने उपायहरु वारे शिविर चलाईने गरिएको छ । माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाहरुको मनोरम दृश्य देखिने सेती नदि किनारामा रहेको यो ध्यान केन्द्रमा पोखरा र आसपासका जिल्लाहरुवाट समेत योग र ध्यान साधनाका लागि मानिसहरु आउने गर्दछन् । फराकिलो वगैचा, ध्यान र योगका लागि हावा चल्ने खुल्ला हल ध्यान केन्द्रमा छ । केन्द्रमा स्वामि योगानन्दका अनुसार योग, साधना र ध्यानले तनाव, अशान्ति, मानसिक र शारीरिक विकार हटाएर सुखी र खुसी पूर्वक बाँच्न सिकाउछ । योग तथा ध्यान केन्द्रमा दैनिक दर्जनौ सेवाग्राहीहरु सहभागि हुन आउछन । विभिन्न पेशा, व्यवसाय, विद्यार्थी सबै जसो पेशा र उमेरका मानिसको लागि यो ध्यान केन्द्र तनाव व्यवस्थापन र आत्मवल वृद्धिका लागि विश्वासिलो साथि बनेको छ । प्रेममा असफल, लागू पर्दाथको कुलत, पारिवारिक तनाव, पेशागत थकान, व्यापार, व्यवसायमा असफल भएकाहरुलाई ध्यान, योग, साधनामार्फत जीन्दगीको उज्याला पक्षहरुको जानकारी दिइने गरेको छ । ध्यान केन्द्रले स्वस्थ्य जीन्दगी बाँच्नका लागि आवश्यक आहारविहार, वानी व्यहोरा, अनुशासन, मानिसको जीन्दगीको मूल्य, मान्यता, बोली चालि, रोगहरु र योगहरु गर्ने तरिका पनि सिकाईन्छ ।
पोखरामा योग ध्यान केन्द्रहरु दिनानुदिन बढ्दै गएका छन्, कति योग गुरु, स्वामीहरुबाट शिक्षा प्राप्त गरेर सन्यासी जिवन भोग गर्दै समाजमा सकरात्मक उर्जाको स्थापनाको लागि छन् भने कहि कतै व्यवसायिकरुपमा योग ध्यान गराउने गरेको पाइन्छ।
अन्त्यमा, आखिर जसरी सुरु भएको भएपनि वैद्धिक शिक्षालयहरुमा योग सम्बन्धी पाठ्यक्रमको आवश्यकता देखिएको छ।
हिजोका ऋषिमुनिहरुले जीवन र जगतको कल्याणका लागि योगको माध्यमवाट देखाएको सादा जीवन उच्च विचार, त्याग, तपस्या र वलिदानको गौरवपूर्ण गाथा अहिलेको युगमा पनि उतिकै महत्व रहेको बास्तविकता झन झन पुष्टि हुदै गएको छ । व्यक्ति आफैभित्र, परिवार, समाज, देश र विश्वमा झ्यांगिदै गएको व्यक्तिवादी, स्वार्थी, लोभी, क्षणिक आत्मरतिमा रमाउने चरित्रका कारण मानिस मानिसवीचको विभेद र असमानताको खाडल गहिरो बन्दै गएको छ । एक व्यक्ति, देश, जाति, वर्गले अर्को भिन्न क्षेत्रको व्यक्तिलाई विभिन्न वहानामा गर्ने शोषण, दमन, उत्पीडन र दास बनाएर स्वार्थ सिद्धी गर्ने चरित्रले हत्या, हिंसा, चोरी, डकैती, वलात्कार, ठगि, अपराधजन्य घटना त घटिरहेका छन । हजारौंं, लाखौं मानिस, प्राणी र मानिसलाई ज्यान लिने र अंगभंग गर्दै ठुलो धनजनको क्षति गर्ने युद्धहरु हुदै आएका छन । अझ भन्नुपर्दा शक्तिशाली बनेर कमजोर माथि शाषन गर्नका लागि सिंगो मानवजाति र पृथ्वीलाई नै क्षणभरमा खरानी पार्न सक्ने विध्वंसकारी हातहतियारको आविष्कार गरिएको छ । विश्वमा वड्दै गइरहेको गरिवी, अभाव, भोक, रोग, शोक, प्रकोपवाट सुरक्षाका लागि जति लगानी गर्नुपर्ने हो त्यति भएको छैन । ध्यान दिएको छैन । मानव जीवन र जगतलाई सुन्दर, शान्त, समृद्धि, समतामुलक बनाउनेतर्फ ठोष पहल भएकै छैन । यसतर्फ राज्यका सम्बन्धित निकायले ले विशेष ध्यान दिनुपर्ने देखिएको छ।