पर्वतः फलेवास नगरपालिका कार्कीनेटा वडामा बनेको स्वास्थ्य चौकी भवन २ वर्ष नपुग्दै जिर्ण अबस्थामा पुगेको छ।
करिब ३ करोडको लागतमा बनेको स्वास्थ्य चौकी उचित जमिन छनौट गर्न नसक्दा भवन निर्मणको काम पुरा गरेपनि स्वास्थ्य चौकी सञ्चालन हुन सकेको छैन।
करोडौंको बजेटमा बनेको स्वास्थ्य चौकी यतिका वर्ष हुँदा पनि सञ्चालनमा आउन नसक्नुले कार्कीनेटा वासीहरु मर्कामा परेका छन्।
भवन निर्माण सकिएकोले आफ्नै भवनमा सर्ने भनेर जिल्लाबाट जानकारी आएपनि डर र त्रासका कारण सर्न नसकिएको स्वास्थ्यचौकीका कर्मचारीहरु बताउछन्।
भवन बनिसक्यो तर अझसम्म हस्तान्तरण हुनपनि सकेको छैन। कुन बेला के हुन्छ भन्ने डरको कारण स्वास्थ्य चौकी सञ्चालन गर्दा कुन बेला पल्टने हो भन्ने डर र त्रास हुने भएकोले सञ्चालन गर्न नसकिएको उनिहरुको बुझाइ रहेको छ।
माटो भु–बनोट कमशल र दलदल भएको स्थान छनौट गर्ने केही व्यक्तिको मनोमानी र लापरवाहीका कारण भवन धराशय अवस्थामा रहेको छ। कार्कीनेटाबाट सदरमुकाम पुग्ने सडक मुनि भवन बनाइदा बाटोलाई समेत थप जोखिम बनाएको छ भने भवनमुनीबाट कार्कीनेटा खाल्टाथर पु¥याउने सडक हुँदा स्वास्थ्यचौकी भवन तल र माथिको भागबाट जान सक्ने पहिरोको उच्च जोखिममा रहेको छ।
२०७४ सालमा जग खन्दादेखि नै जमिन भासिएको देख्दादेख्दै तत्कालीन सर्वदलीय संयन्त्रको मिलेमतोमा जबर्जस्ती भवन बनाउन सुरु गरिएको थियो । प्राविधिकले समेत त्यहाँ भवन बनाउन नमिल्ने सुझाव दिएका थिए ।
जग्गा छनोटमै असहमति जनाएका प्राविधिकले भवन बनाउनु नै गलत भएको बताएका थिए । ‘मैले उति बेलै जमिन उपयुक्त छैन भनेकै हो,’ तत्कालीन साइड इन्जिनियर सूर्यप्रसाद बरालले भनेका थिए, ‘अन्यत्र विकल्प नभएपछि बाध्य भएर पास गरिएको हो, दुवैतिर सडक र बीचमा दलदले जमिन उपयुक्त हुँदै होइन,’ उनले भने। हाल अवकाशप्राप्त बरालले अहिले उक्त विषयमा अन्य कुराहरु बोल्न नमिल्ने बताए ।
भवन निर्माण समितिले धेरै ठाउँमा जग्गा खोज्दा नपाएर उक्त ठाउँ नै उपयुक्त होला भनेर भवन निर्माण गरिएको जानकारी गराएका थिए। उक्त ठाउँमा हिरामणी शर्मा, दिवाकर शर्मा र भुमिराम शर्माले ३ रोपनी जग्गा अनुदान दिएको र बाँकी २ रोपनी जग्गा १ लाख ८० हजारमा ढाकाराम शर्मासँग खरिद गरिएको बुझिन आएको छ। तर साढे २ तले ९ कोठाको भवन करिब ५ रोपनी क्षेत्रमा बनेको भवनको जमिन कति रकममा खरिद भयो, भवन लागत बजेट कति हो भन्ने विषयमा स्पष्ट रुपमा जानकारी गराइएको छैन।
वर्षेनी पैह्रो जाने कच्ची ठाउँमा स्वास्थ्यचौकीको लागि जग्गा छनौट गर्नेहरु केही व्यक्तिहरु आर्थिक लोभ र लालचमा फसी काम गरेको हो भन्न सकिन्छ । ०७४ सालमा भवन निर्माण गर्ने क्रममा दलदल र बनाएको भाग भासिन थालेपछि भवन निर्माण भएको ठाउँबाट करिब १ कि.मी नजिकै ५ रोपनी जग्गा निःशुल्क अनुदान दिन्छौं भन्दाभन्दै पेलेर काम गरिएको छ। जग्गा निःशुल्क पाउँदा समेत काम नगरी करौडौंको रकमलाई बलमिच्याई भवन निर्माणको काम गरिएको छ, रकमको दुरुपयोग गरि हिनामिना पारिएको छ।
तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण हुन लागेको स्वास्थ्य चौकी प्रयोगमा आउने सम्भावना छैन। किनकी, बर्खामा हरेक वर्ष पैह्रो जाने र भवन चर्कने र त्यसलाई टालटुल पार्ने मात्र काम भएको छ। वर्षेनी लाखौं रकम मर्मत खर्च लाग्ने स्थानमा बनेको स्वास्थ्य चौकी भवन सेतो हात्ती जस्तो खर्चालु बनेको छ। कार्कीनेटा स्वास्थ्य चौकी भवन निर्माण समिति, कर्मचारी र इन्जिनियरले समेतले यस विषयमा स्पष्टिकरण दिनुपर्छ।
राजनीतिक मुख्य दल कांग्रेस, एमाले र माओवादी नेताहरुको प्रत्यक्ष संलग्नतामा बनेको भवनको हालसम्म भवन कति रकममा सम्पन्न भयो भन्ने हिसाव किताव पारदर्शी ढंगबाट देखाइएको छैन । यसरी बन्ने भौतिक संरचनामा राजनीतिक दलका केही नेताको आफ्नो स्वार्थ र खल्ती भर्ने कामले गर्दा समग्र कार्कीनेटावासीहरुले करौडौंको रकममा बनेको स्वास्थ्य भवन प्रयोग गर्न पाएका छैनन्, भने त्यसबाट पाउने सेवा सुविधाबाट स्थानियहरु बञ्चित बन्न पुगेका छन्।
पर्वत जिल्ला र स्याङ्जा जिल्लाको बोर्डर लाइनमा रहेको कार्कीनेटाबाट स्वास्थ्य सेवा लिनको लागि कुश्मा पुग्न १७ कि.मी. कच्चीबाटो र स्याङ्जा ३६ कि.मी र पोखरा पुग्नको लागि ५७ कि.मी.को दुरी पर्दछ। महिनामा करिब ५–६ वटा डेलिभरी केसहरु आएपनि ठाउँको अभावका कारण कुश्मा वा पोखरा पठाउनुपरेको स्वास्थ्यचौकी इन्चार्ज सुशिलप्रसाद शर्मा बताउछन्।
“नियमित खोप लगायत सामान्य परिक्षण तथा उपचार गरेपनि बर्थिङ सेन्टर नहुँदा नर्मल डेलिभरीको लागि ठुलिपोखरी पठाइने र जोखिम केशमा कुश्मा, पोखरा पठाउन बाध्य भएको छ”, इन्चार्ज शर्मा बताउछन्।
यसरी करौडौं रकममा बनेका राज्यका सम्पत्तीलाई नियमन निकायले उचित ढंगबाट छानविन नगर्दा यस्ता समस्याहरु झन् झन् मौलाउँदै गएका छन्, राज्यका नियमन निकायले बेलैमा सचेत बनेर समयमा नै छनविन गरि दोषीमाथि कडा कारवाही गर्न आवश्यक देखिन्छ।