पोखराः पेटमा गडवडि भएर उपचारका लागि फिस्टेल हस्पिटल गैह्रापाटन पोखरामा भर्ना भएका एक बिरामीले महिनौसम्म दुःख पाएर झण्डै ज्यान गुमाएनन् । पोखरामा लाखौ खर्च गरेर काठमाडौंको नेसनल क्यान्सर केयर अस्पतालमा समेत लाखौं खर्चेका ती बिरामीका आफन्तले बेलैमा सचेत भएर अर्को अस्पताल लगेका कारण मृत्युको मुखवाट जोगिएको बताएका छन् ।
गत चैतको अन्तिम सातातिर पेटमा गडवडी शुरु भएर पोखरा महानगरपालिका १६ वाटुलेचौरका ४५ बर्षिय रामप्रसाद आचार्य उपचारका लागि फिस्टेल अस्पतालमा पुगेका थिए। फिस्टेलमा डा.बसन्त ताम्राकारलाई देखाउँदा ग्याष्टिक भएको भन्दै एक महिनासम्म दवाई खाँदा समेत निको नभएपछि आचार्यले फिस्टेलकै सर्जरी विभागमा देखाएका थिए । जहाँ डाक्टरहरु प्रदीप घिमिरे, सन्तोष श्रेष्ठ र बिनोद श्रेष्ठको टोलीले पित्त थैलीको पत्थरीका कारण पेटमा समस्या भएको भन्दै पित्त थैली निकालेर फालिदिएका बिरामीका आफन्तले बताए । पित्त थैली फालेर घर पुगेको केहि समयपछि फेरि उस्तै समस्या देखिएपछि डा. घिमिरेको सोहि टिमले आन्द्रा वटारिएकोले समस्या भएको भन्दै फेरि आन्द्राको शल्यक्रिया गरेको थियो । डा. घिमिरेको टिमले शल्यक्रियाको क्रममा पेटमा दुई एमएमको मासु देखिएको र निकालेर फालिदिएको वताएर घर पुगेका बिरामी आचार्यमा फेरि समस्या बल्झिएपछि फिस्टेलमै भर्ना हुन आएका थिए । शल्यक्रिया गर्दा फोहोर पानी र रगत जानका लागि राखिएको डे«नबाट समेत दिसा आउन थालेपछि डाक्टरलाई देखाउँदा केहि पनि होईन, फोहोर निस्केको भनेर आलटाल गर्दै झुलाउने गरेका बिरामी आचार्यका जेठान गणेश पौडेलले बताए ।
पौडेलले बिरामीको अवस्था झनै विग्रिएको र आन्द्राको मासु परीक्षण गर्दा क्यान्सर देखिएपछि काठमाडौंको नेशनल क्यान्सर केयरमा देखाउँदा पनि फिस्टेल हस्पिटलकै जस्तै व्यवहार भएको बताए । त्यहाँ पनि उपचार गर्दा १५ लाख रुपैयाँ सकिएको र बिरामीको अवस्था झनै बिग्रदै गएपछि नेशनल क्यान्सर केयरले डिस्चार्ज गर्न नमानेपनि दवाव दिएर डिस्चार्ज गरी ग्राण्डी अस्पताल लगेपछि सुधार भएको पौडेलले जानकारी दिए । उनले फिस्टेल अस्पतालमा आन्द्राको अप्रेसन गर्दा सानो आन्द्रा समेत सिलाई दिएकोले समस्या चर्किएको र सो कुरा नेशनल क्यान्सर केयर अस्पतालले लुकाएको बताए ।
फिस्टेल अस्पतालमा २ लाख ७५ हजार रुपयाँ र क्यान्सर केयर काठमाडौंमा १५ लाख रुपयाँ खर्चेका बिरामी आचार्यको अहिले ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भईरहेको छ । त्यो अस्पतालमा पहिलाको भन्दा बिरामीको अबस्थामा सुधार आएको पौडेलले जानकारी दिए।
बिरामीका आफन्तले उपचारका नाममा बिरामीको ज्यान र धनमाथि गम्भिर लापरवाही भएको आरोप लगाउँदै घटनाको छानवीन गरी दोषिमाथि कार्वाही गर्नुपर्ने मागसहित नेपाल मेडिकल काउन्सीलमा उजुरी दिएका छन् ।
पीडित परिवारले फिस्टेल अस्पतालमा शल्यक्रिया गर्ने डा. प्रदिप घिमिरेसहितको टोली र नेशनल क्यान्सर केयर अस्पतालमा शल्यक्रिया गर्ने कपेन्द्र शेखर अमात्य, हेमन्त वाटाजु, आगोल कृष्ण श्रेष्ठका बिरुद्ध उजुरी दिएका छन् ।
बिरामी आचार्यका जेठाजु गणेश पौडेलले फिस्टेल अस्पतालमा लार्पावाहीले बिरामीले भोग्नु परेको समस्या बारे छलफल गर्दा गल्ती भएपनि आफुहरुले नगरेको बताउँदै जहाँसुकै उजुरी गरेपनि नडराउने खालको अभिव्यक्ति दिएर हेपाहा चरित्र देखाएको आरोप लगाए ।

हाम्रो कुनै लापरवाही छैन : डा.प्रदिप घिमिरे

फिस्टेल अस्पतालका डा.घिमिरेलेले फिस्टेल हस्पिटल र डाक्टरहरुलाई बदनाम गर्ने नियतवस फसाउन खोजिएको बताएका छन्।
विरामीको आफन्तसँग केही दिन अगाडि छलफल भएको तर उनिहरुलाई कुरा बुझाउन नसकेको उनले बताएका छन्। “हामीले विरामीको परिवारसँग छलफलमा बस्यौ तर उहाँले नेशनल क्यान्सर केयरले बोलेको कुरालाई सत्य मानी सबै गल्ती हाम्रीमाथी थुपार्नुभयो। हामीले गल्ती नै गरेका छैनौं, अरुले गरेको दोष किन हामीले लिने ?, उनले भने, केमोथेरापी गर्नै नपर्ने विरामीलाई केमोथेरापी गरिएको छ र अपरेशन गरेपछि थप समस्या बल्झिएको छ। कस्को गल्ती हो सबै प्रमाण विरामीको आफन्तसँग छ, सम्बन्धित निकायमा गएर उजुरी गर्न सक्नुहुन्छ, भोलिका दिनमा छानविन होला, गल्ती कस्को हो प्रमाणले देखाउने हो। कसैले के बोल्यो भन्नु भन्दा समस्या बल्झिएको कहाँबाट हो भन्ने कुरा हेर्नुपर्छ।”
डा.घिमिरेका अनुसार, आन्द्रा टासेर सिलाएको भए बन्द हुनुपर्ने, भिडियो रिपोर्ट, सिटीस्क्यानमा देखिनुपर्ने, समस्या नै भएको भएपनि हामीसँग आउनुपर्ने थियो किन आउनुभएन ? एक्कासी काठमाण्डौं जानुभयो, जानेवेलामा पनि जाउलो खाना राम्रैसँग खानुभएको थियो, दिशा पनि भएकै थियो, हिडेर नै जानुभएको थियो। आन्द्रा च्यातिने भन्ने हुँदैन, आन्द्रा सिलायो भने बरु बन्द हुन्छ। अपरेशन गर्नु नपर्ने विरामीलाई नेशनल क्यान्सर केयरले अपरेशन गरेको छ। अपरेशन गर्दा प्वाल नै छोडेको छ र हामी सक्दैनौ भनेपछि विरामीलाई ग्राण्डीमा लगिएको छ। हामीले गल्ती गरेको भए कुनै न कुनै इन्भेष्टिकेशनमा देखिनुपर्छ। त्यसलाई कहि कतै पनि त्यस्तो देखिएको छैन। नेपाल क्यान्सरले ८–९ दिन आइसियुमा राखेर टिटमेन्ट गर्न नसकेपछि दोष जति पोखरालाई थुपारेर आफु जोगिन खोजेको हो।