पोखराः देश र जनताको परिवर्तनका नाममा अनेकौं आन्दोलन भए। जनताको हजारौं छोराछोरीले रगत र पसिनाको खोलो बगाएर पुरानो शाषन व्यवस्था ढलाएर नयाँ संविधान, शाषन, सरकार बनाए। देशमा जतिसुकै परिवर्तनका कुरा गरिएपनि गरिव जनताको जनजीवन र देशको स्थिति भने सधै दुःखमा अल्झिरहेको छ।
दिन दिनै बढिरहेको महङ्गी, शिक्षा, स्वास्थ्यमा पहुँच नहुनु, रोजगारीको अवसरबाट बन्चित बनेर गरिव जनता चरम भोक, रोग र शोकमा पिल्सिएका छन्। उता देश र जनता परिवर्तन गर्छु भनेर चर्का भाषण गरेर जनताका छोराछोरीलाई आन्दोलनको आगोमा हालेर नेता बनेकाहरु मध्ये अधिकांशको जीवनस्तर भने रोडबाट करोडमात्रै हैन अरवपतिको हैसियतमा पुगेको छ। सरकार र सत्तामा बसेकाहरु र राज्यको उच्च पदमा बसेकाहरु मध्ये केहि बाहेक अधिकांश कर्मचारीहरु भ्रष्टाचार, कमिसन, ढिलासुस्तीमा चुर्लुम्म डुवेका छन्।
नातावाद, कृपावाद, धनवाद, गुण्डाबाद, माफियाबाद, शक्तिवाद जस्ता अनेक बादहरुले देश र गरिव जनताको जीवनस्तर बर्बादीतर्फ ओरालो लागेको छ। लाखौं युवा जनशक्ति गरिवी, अभाव र निरासाको उकुसमुकुस अन्धकारमा पिल्सिएर घरपरिवारको पेट पाल्न विदेशी भूमिमा रगत पसिना वगाउन बाध्य भएका छन्। हजारौं युवाहरु दुर्घटना, हत्या, रोग र यातनाको शिकार भएर बन्द बाकसमा मुर्दा भएर स्वदेश फर्कन बाध्य भएका छन्। फेरि पनि सत्तामा पुगेर काँचुली फेरेका सुकिला मुकिला नेता भन्नेहरु सुख, शान्ति, समृद्धिका गफ हानेर जनताको आँखामा छारो हाल्न पछि परेका छैनन्।
देश परिवर्तनका नाममा २००७ सालदेखि २०४६ साल र २०६२ मा जनआन्दोलन भए। नेकपा माओवादीले २०५१ सालमा जनयुद्ध थाल्यो। यस अवधिमा हजारौं जनताका छोराछोरीले देश, जनता विकास, अधिकार, सुख, शान्ति, समृद्धिमा रम्न पाउने आशामा कठोर यातना र गोली छात्तिमा थापेर हाँसि हाँसि आफुलाई बलिदान गरे। कतिपय अंगभंग भएर दुःख र कष्टदायी जीवन भोगिरहेका छन्। तर देश परिवर्तनका लागि बलिदान गर्ने हजारौं शहीदका परिवारको अवस्था भने झनै दुःखद् र कहाली लाग्दो बनेको छ।
हरेक परिपर्वनको युद्धमा अग्रमोर्चामा रहेर ज्यानको बलिदान गर्ने शहीदका परिवार र निमुखा गरिव जनताले आखिर के पाए त ? अव खोज्नुपर्ने बेला आएको छ। तिनै मजदूरहरु जो दिन रात नसुतिकन घन, गैची, वेल्चा र औजार खेलाएर ठुला ठुला महल बनाउँछन तर तिनिहरुकै जीन्दगी डेराको झोपडीमा जान्छ। जस्ले कुटो, कोदालो, हलो जस्ता औजार चलाउँदै जन्मैदेखि माटोमा पसिना वगाएर अमृत समान अन्न फलाउछ उ र उसका परिवारको नाममा किलो गाड्ने जमिन छैन, आफु र परिवारको पेट सधै भोक भोकै रहन्छ। अनि जस्ले दामि दामी पोशाक बनाएर अरुको लाज ढाक्दै सुन्दर बनाउँछ उस्कै ज्यानमा सधै जडेउरीले ढाकिएको हुन्छ।
विकट गाउँ र शहरका कुना कुनामा रहेका गरिव जनताका यस्ता अनेकौं दर्दहरु देश हाँक्न पुगेकाहरुले कहिल्यै देखेननन। जनतालाई सधै भोट बैंक र सत्तामा उक्लने सिढिका रुपमा प्रयोग गरे।
पद, पैसा, पावरको पछि कुद्ने नेतृत्वको प्रवृत्तिका कारण देशमा नातावाद, कृपावाद, चाकडी, चाप्लुसी, कमिसन, घुसखोरीहरु मौलाउँदै गएको छ। ईमान्दार, सोझा, सिधा र मेहनती जनतालाई दैनिक जीविकोपार्जन गर्न कठिनाई भएको छ। भ्रष्ट, वेईमानहरुले स्थानीयदेखि उच्च पदमा कव्जा जमाउनलाई राजनीति, समाजसेवा, मानवअधिकार, अभियन्ता जस्ता अनेक आवरण ओढेर आफ्नो स्वार्थपूर्ति गर्नमा तल्लिन छन्। विदेशीका लागि सुराकी गर्ने एजेण्टहरु पनि यस्ता अनेक आवरणमा वसेर देश र जनतामाथि घात गर्दै गईरहेका छन्।
देशमा गरिव र धनीविच बड्दै गएको गहिरो दूरीले फेरि पनि द्धन्द चर्काउने निश्चित छ। जुन दिन गरिवी, शोषण, दमन र उत्पीडनको जन्जीरमा झेलिएको वर्गले आफु लुटिएको बुझेर हक, अधिकारका लागि उठछन त्यो दिन फेरि देशमा रगतको खोलो बग्नेछ। जसले कतिको जीन्दगी बर्बाद पार्ने हो ? त्यसको अनुमान गर्न गाहे छ। नेपालको ईतिहास र विश्वको ईतिहासले जव दमन र शोषणमा राखिएका जनता जाग्छन तव लुटेर खाने वर्गका विरुद्ध जागेर रगतको खोलो वगाएका अनेक उदाहरण छन्।
यहाँ भन्न खोजिएको कुरा के हो भने कागज, नारा, भाषण, सिद्धान्तमा जतिसुकै आधुनिक क्रान्ति, परिवर्तन, विकास र समृद्धिका कुरा गरेपनि व्यवहारमा उहि लोभ, लालचा, स्वार्थ बोकेर हिड्नेहरु सधै परिवर्तनका बाधक बनिरहेका हुन्छन्। अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नयाँ संविधान आएको ६ बर्ष भयो। तर देशको मुल कानुन संविधानमा सुख, शान्ति, समृद्धि, समानता र सुधारका जतिसुकै धारा उपधारा लेखिएको भएपनि त्यसलाई कार्यान्वयन गर्नेहरुको गैह्रजिम्मेवारीपनले गर्दा जनताको जीवनस्तर झनै दुःखद् बन्न पुगेको छ। विदेशी भूमिमा रगत र पसिना वगाएर युवा शक्तिले पठाएको रेमिट्यान्सले धानिएको नेपालमा राजनीति र सत्तालाई पद, पैसा र पावरको चलखेल गर्ने थलो बनाउनेहरुका बिरुद्ध सबै इमान्दार जनता जाईलाग्नै पर्छ। जनताको रगत, पसिना बगाएर जम्मा गरेको राज्यकोष लुटेर आफु, आफन्त र आसेपासेहरुको सात पुस्तासम्मलाई पुग्ने धन थोपार्नेहरुलाई ठेगाना लगाउनै पर्छ। त्यसैले आफु इमान्दार बन्ने मात्रै होइन, खराव आचरण बोक्नेहरुका विरुद्ध सवै जना बोल्नैपर्छ। भ्रष्ट, वेईमान, लुटेरा, गुण्डाहरुको भण्डाफोर गरेर समाजवाट बहिष्कार गर्दै कार्वाहीको कठघरामा उभ्याउनुपर्छ। जनताको चेतनाको जीवनस्तर जागोस, लुटेर खान पल्किएकाहरुको सत्यनास होस्। संविधान दिवसको यही शुभकामना।