प्रदेश १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।

राज्यमन्त्री गजमेरलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय सदस्यमा नियुक्त गरेका थिए । तर गजमेरले अस्वीकार गरेकी थिइन् ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज बिहान आफ्ना पदबाट राजीनामा दिएको उनका स्वकीय सचिव राम पोखरेलले बताए ।

वर्तमान राष्ट्रिय राजनीतिमा आएको परिवर्तनका कारण आफूहरुले प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीमा रही काम गर्न असमर्थ रहेको कारण देखाई उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं १ को कार्यालय विराटनगरमा राजीनामापत्र बुझाएका हुन् ।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले वर्तमान राजनीतिक घटनाक्रममा समान धारण राख्ने राजनीतिक दलसँग कार्यगत एकता हुन सक्ने बताए ।

प्रदेशसभा सचिवालयमा आज दर्ता भएको अविश्वासको प्रस्तावको प्रस्तावकसमेत रहेका पूर्वमन्त्री आङ्बोले सङ्घीय सरकारले प्रतिनिधिसभा भङ्ग गरेपछि उत्पन्न परिस्थितिमा समान धारणा राख्ने राजनीतिक दलसँग बृहत् कुराकानी भइरहेको समेत बताए । आङ्बोलाई शनिबार मुख्यमन्त्री राईले पदमुक्त गर्नुभएको थियो ।

उनले आफूले दुई वर्ष १० महिना प्रदेश सरकारको मन्त्री भएर काम गर्दा सुखद् अनुभूति रहेको तथा मुख्यमन्त्रीसँग असल सम्बन्ध रहेको बताउँदै भने, “हामी संसद्मा बहुमत बनाएर अघि बढ्ने छौँ, मलाई शनिबार मन्त्री पदबाट मुक्त गरिएको विषय एकदमै प्राकृतिक एवं सामान्य हो”।