काठमाडौं । करिब डेढ महिनापछि नबिल बैंक सूचीकृत कम्पनीमध्येकै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको छ । नबिलको मूल्यमा उच्च वृद्धि र पुनर्बीमा कम्पनीको मूल्यमा उच्च गिरावट आएपछि बजार पुँजीकरणका आधारमा तेस्रो स्थानमा पुगेको नबिल बैंक यो सातादेखि फेरि दोस्रो स्थानमा फर्किएको हो । 

बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नबिल बैंकको बजार पुँजीकरण १ खर्ब ४३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको पुँजीकरण भने १ खर्ब ३७ अर्बमा सीमित भएको छ । 

अघिल्लो साता नबिल बैंकको १ खर्ब २४ अर्ब रुपैयाँ मात्रै थियो । एक साताको अवधिमा यस्तो पुँजीकरण करिब १९ अर्बले बढेको हो । उता अघिल्लो हप्ता १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको पुनर्बीमा कम्पनीको पुँजीकरण १२ अर्बले घटेर १ खर्ब ३७ अर्बमा झरेपछि पुँजीकरणमा यात्रामा नबिल फेरि दोस्रो नम्बरमा उक्लिएको हो । नेपाल टेलिकम भने पहिलो नम्बरमा कायमै छ ।

सीआईटीलाई एनआईशी एशियाले उछिन्यो

उता पाँचौं र छैटौं नम्बरको प्रतिस्पर्धामा रहेका नागरिक लगानी कोष र एनआईशी एशिया बैंकको प्रतिस्पर्धामा एनआईशी एशिया बैंक अघि बढेको छ । अघिल्लो साता ८९ अर्ब ९१ करोड पुँजीकरणसहित नागरिक लगानी कोष पुँजीबजारको पाँचौं कम्पनीको रुपमा थियो । यो साता यसको मूल्य घट्दा पुँजीकरण ८३ अर्ब ६७ करोडमा सीमित भएको छ ।

उता एनआईशी एशिया बैंकको मूल्य बढ्दा एकैपटक १६ अर्बले बढेर ८९ अर्बबाट ९५ अर्ब पुगेको छ । अहिले बजारमा एनआईशी एशिया बैंक पाँचौं र नागरिक लगानी कोष छैटौं ठूलो कम्पनीको रुपमा रहेको छ । चौथो ठूलो कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कायमै छ ।