काठमाण्डौं । प्रभु लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सर्वसाधारणलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ आबेदनबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि २ अर्ब ७८ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । त्यस मध्ये २ हजार १६९ आबेदनबाट प्राप्त भएको ४७ हजार ७२० कित्ता शेयर आबेदन रद्द भएको छ ।त्यस अनुसार १० लाख ४६ हजार ८७८ जना आबेदनमा शेयर माग भएको छ ।

माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १०कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाएका छन् ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।