करिब नौ महिनापछि सिनेमा हल खुल्न लागेको खबरले अभिनेत्री केकी अधिकारी भावुक बनेकी छिन्।

कोरोना महामारी र लकडाउनका कारण झन्डै ९ महिनापछि पहिलो पटक पुस १० गते, शुक्रबार सिनेमा हल खोल्ने तयारी भइरहेको छ।

यही सन्दर्भमा सामाजिक सञ्जाल मार्फत उनले यो खबरले आफूलाई भावुक र पुलकित बनाएको बताएकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यो शुक्रबार पौष १० गते देखि चलचित्र भवनहरु खुल्दैछन्। थोरै भावुक छु। थोरै पुलकित छु। जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु।

त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डूबेर स्तब्ध भई सुँक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु। चलचित्र भवन भित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तराल पछि फेरि मिल्दैछ। सूरक्षित र सजग भई स्वास्थ्य सावधानी अपनाई आउनुहोस् यो क्षेत्रलाई पुनर्जीवन दिउँ।’

केकीले शुक्रबार दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ पुन: प्रदर्शन हुन लागेको भन्दै सबैले सक्दो सहयोग गरिदिन अनुरोधसमेत गरेकी छन्।

केकीले सिनेमा हल बन्द हुँदा आफ्नो आयस्रोत, ज्ञान र आशिष प्राप्त गर्ने मूल थलो धेरै समयदेखि बन्द रहेको समेत उल्लेख गरेकी छिन्। उनी लेख्छिन् “चलचित्र भवन मेरो लागि कार्यालय हो, विद्यालय हो र मन्दिर पनि हो। मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आषिशको मूल थलो धेरै समय देखि बन्द थियो।”





शुक्रबारदेखि व्यवसायीले एकतर्फी रूपमा हल खोल्ने तयारी गरेका हुन्। यसबारे सरकारले औपचारिक रुपमा अनुमति दिएको छैन। हल व्यवसायीको निर्णयप्रति सरकार मौन छ।

शुक्रबार छाया कम्प्लेक्स, लबिम मल र सिटी सेन्टरका मल्टिप्लेक्समा दुई नेपाली फिल्मबाहेक हलिउड फिल्म ‘ब्लडसट’ र ‘इनभिजिबल म्यान’ पनि प्रदर्शन हुने तयारी छ।