यसपालि कोरोना कहरले उत्पन्न असहज परिस्थितिका कारण रोकिएको कक्षा १२ को परीक्षा मङ्सिर ९ बाट सुरु भयो।

परीक्षा रोकिँदा थुप्रै प्रश्न, अन्यौलता र असहजता थियो त्यसको अन्त्य भएको छ। जारी परीक्षाले प्रतिकुलताका बीच सकारात्मक सन्देश पनि दिएको छ।

रातपछि घाम जस्तै शिक्षा क्षेत्रमा केही नराम्रो पछि राम्रोको संकेत यसले गरेको मान्न सकिन्छ। त्यसैले अब राष्ट्रिय परीक्षा बोर्डले निम्न कुराहरुमा ध्यान दिनु अति उपयुक्त र समायानुकुल हुने छ।

अब प्रश्नपत्र छापिरहनु पर्ने युगको अन्त्य गर्नुपर्छ। कक्षा १२ को परीक्षामा बोर्डले असल नजिर स्थापना गरिदिएको छ।

यसका लागि शिक्षा मन्त्रालय, परीक्षा बोर्डका अध्यक्ष, सदस्यसचिव, परीक्षा नियन्त्रक लगायत सम्पूर्ण पदाधिकारीलाई धन्यावाद दिनै पर्दछ।

प्रधानाध्यापक सूचना प्रविधिसँग अभ्यस्त नभएका एकाध विद्यालय बाहेकमा समयमै परीक्षा सञ्चालन भए।

सुरुको दिनमा बोर्डले विद्यालयलाई प्रश्नपत्र पठायो भने दोस्रो दिनबाट बोर्डले जिल्लास्थित कार्यालयलाई र कार्यालयले विद्यालयलाई पठायो। विद्यालयले तत्काल प्रश्नपत्र छपाइ (प्रिन्ट) गरी विद्यार्थीलाई वितरण गरे।

प्रश्नपत्र नछाप्दा राष्ट्रिय परीक्षा बोर्डको करिव तीन करोड रुपियाँ बचत हुने भएको छ (यद्यपि यो बर्षको छपाइ भैसकेको भएता पनि पुन:छपाइको लाग्थ्यो) छापिएका प्रश्नपत्र देशभरिका परीक्षा केन्द्रमा पुर्याउदा थप खर्च छँदैछ। परीक्षा केन्द्रहरूमा १० देखि १५ जना सुरक्षाकर्मी खटाइने गरिएकोमा अहिले एकदेखि दुई जनासम्म खटाइएको छ। यसले गर्दा सुरक्षाका लागि थप खर्च हुने करिव तीन करोड रुपियाँ जोगिएको छ।

अबको युगमा सूचना प्रविधिलाई प्रयोग गर्नै पर्दछ। विद्यालय तहको परीक्षा विशेषगरी एसईई र कक्षा १२ का लागि अब प्रश्नपत्र छाप्नुपर्ने वाध्यताको अन्त्य गर्नै पर्दछ। कुनै बेला भारतको नयाँ दिल्लीबाट प्रश्नपत्र छपाएर ल्याइन्थ्यो। त्यसपछि जनक शिक्षा सामग्री केन्द्रमा छाप्न थालियो। अब परीक्षा बोर्डको मुख्यालयमा प्रश्नपत्र तयार गरेर ईमेल मार्फत पठाउने पद्धति तथा विधिलाई स्थापित गर्नुपर्ने देखिएको छ।

हो, दुर्गममा समस्या छ। इन्टरनेटको समस्या। विद्युतको समस्या। छपाइ (प्रिन्ट) गर्ने समस्या। त्यहाँ यी समस्याबाट उन्मुक्ति पाउने उपायको खोजी गरौँ। त्यही दिन बिहान प्रश्नपत्र पठाउने भन्दा केही दिनअघि नै प्रमुख जिल्ला अधिकारी वा कुनै संयन्त्रलाई प्रश्नपत्र पठाइदिने उपाय हुनसक्दछ। जसले गर्दा परीक्षाका बखत इन्टरनेट वा विद्युत भएन भन्ने अवस्था नरहोस्।

साथै प्रविधिमा कमजोर भएका अति दुर्गम र दुर्गमका आवस्यक प्रधानाध्यापक र अन्य जिम्मेवारलाइ पर्याप्त तालिमको ब्यवस्था गरौ। प्रश्नपत्र छपाइ र ढुवानिको केही रकमले सोलार र पृन्टर किन्ने खर्चको प्रवन्ध गरौ तर मर्मत भने सम्बन्धित विद्यालयले नै गर्नु पर्ने ब्यवस्था गरौं। त्यसो त यसपटकको परीक्षाले प्रधानाध्यापक वा शिक्षक आफै लाइ पनि सूचना प्रविधिमा अभ्यस्त हुनुपर्ने महशुस पक्कै भएको हुनु पर्छ।

विश्वविद्यालय तहमा पनि यो अभ्यासको अनुशरण गर्न सकिन्छ। यसपटक परीक्षा केन्द्र विद्यार्थी पढेकै विद्यालयलाई कायम गरियो तर आगामी वर्ष कोभिडको समस्या पक्कै नरहला। त्यस्तो भएमा विगतको जस्तै सामूहिक परीक्षा केन्द्र कायम गर्न सकिन्छ वा होम सेन्टर नै गर्दा पनि फरक पर्दैन। गोपनीयता कायम गर्न पनि अहिलेको भन्दा सहज हुनेछ।

यदि कहि कतैबाट गोपनियता भङ्ग हुने स्थिति भएमा, बरु अहिले नै ऐन नियमावलि, कानुन, निति के के सम्सोधन गर्नुपर्छ गरौ तर लापर्वाहि गर्ने विद्यालय वा केन्द्र वा केन्द्राध्यक्षलाइ यस्तो कारवाही गरौ कि उसको जिन्दगि भरि पुग्ने गरि गरौ।

विद्यार्थी र विद्यालयले पनि केवल मार्क्स र मार्कसिटमा मात्रै ध्यान नदिइकन परिक्षाको मर्यादा र भोलिको आफ्नो लक्ष्य, उद्देश्य, सिकाइ, ज्ञान र अभिवृद्धिलाई प्रमुख कुरा मानौ। कहिकतैबाट सानातिना कमजोरि भए् गरिए त्यसैलाइ आधार नबनाउ र निति नबनाउ कार्वाहिको दायरामा ल्याऔं। किनकि जुन बिधि पद्दतिमा नि सानातिना कमजोरि र छिद्र हुन्छन। त्यसैले बरु प्रश्नपत्र छपाइ, ढुवानि, सुरक्षा खर्च आदि मा बच्ने करोडौ रकम बरु आर्थिकरुपमा विपन्न विद्यार्थीको उच्च शिक्षामा खर्च गरौँ। पहुँच र गुणस्तरमा खर्च गरौँ।

चुनौतीले संगसंगै अवसर पनि बोकेर आउॅंछ, बादलले पानी बोकेर आए झैं। अब राष्ट्रिय परीक्षा बोर्डको ध्यान विश्वसनीयता, गोपनीयता, ह्याक् हुने संभावनाबाट सुरक्षा र सहज उपलब्धतातिर तानिनु पर्छ। असहज परिस्थिति र अन्यौलताको बीचमा परीक्षालाइ यति सहज रुपमा संचालन गर्न सकेकोमा शिक्षा मन्त्रालय, परीक्षा बोर्डका पदाधिकारी, विद्यालय र विद्यार्थी भाइबहिनीहरु लगायत सरोकारवाला सबैलाइ साधुवाद!

(पराजुली शिक्षासेवी हुन्। उनको नेतृत्वमा कम शुल्कमा गुणस्तरीय शिक्षा दिने गरी विभिन्न शैक्षिक संस्था सञ्चालित छन्।)